म्याग्दीमा कोरोना संक्रमण उकालो लाग्न थाल्यो

विकल्प न्यूज­/बेनी
पुस २७ गते ।

केही महिना सम्म शुन्य संक्रमण भएको म्याग्दीमा फेरी कोरोना संक्रमण उकालो लाग्न थालेको छ । मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा ११ जना संक्रिय संक्रमित छन् ।

संक्रमित थपिए पनि अझै सम्म अस्पतालमा भर्ना गर्नुपर्ने विरामी भने छैनन् । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केही दिनयता देशभर नै कोरोना संक्रमितको संख्या बढन थालेको छ । मंगलबार बेनी नगरपालिकामा ४ जना,रघुगंगा र धौलागिरिमा एक/एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लामा कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

मंगलवार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

स्थानीय तहका जनप्रतिनिधि र जिल्ला स्थित सरोकारवालाहरुको सल्लाह बमोजिम जिल्लामा कोभिडको संक्रमणलाई ध्यान दिदैँ स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्नुपर्ने निर्णय भएको उहाँले बताउनुभयो । स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोहि कार्यविधि बमोजिम कोरोना संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउनमा जानुपर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाईका साथ कार्यान्वयन गर्ने, खोप अभियानलाई व्यापक बनाउने, स्वास्थ्य पूर्वाधार र सामाग्रीसंगै जनशक्तिलाई तयारी अबस्थामा राख्ने निर्णय समेत गरेको छ ।

जिल्लाव्यापी रुपमा कोरोना संक्रमणबाट बच्च र बचाउन तपाईको मास्क खोई रु अभियान चलाउने,सञ्चार माध्ययम मार्फत प्रचार प्रसार गर्ने, सामाजिक र भौतिक दुरी कायम गर्न लगाउने, २५ जना भन्दा बढी मानिस जम्मा भएर कुनैपनि सार्वजनिक कार्यक्रम, मेला, महोत्सव तथा भेलाहरु नगर्ने र गर्न रोक लगाउने निर्णय समेत गरिएको छ ।

स्मार्ट लकडाउन २०७८ मा भएको सुचक अनुसार जोखिम मुल्यांकन र लकडाउनको तह विश्लेषण गरि स्थानीय तहहरुले कार्यान्वयन गर्ने र डिसिएमसीलाई नियमित रुपमा जानकारी गराउने समेत निर्णय भएको छ । बैठकमा जिल्ला स्थित राजनीतिक दल, स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तह, सुरक्षा निकाय र संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

बैठकमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी, धवलागिीकी अध्यक्ष थमसरा पुन मगर,मंगलाकी उपाध्यक्ष सिर्जना केसी,मालिकाकी उपाध्यक्ष खरमायाँ विटालु र अन्नपूर्णकी उपाध्यक्ष केशमायाँ मगरले स्थानीय तहमा कोभिड रोकथाम र उपचारको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

स्थानीय तहमा तत्काल विद्यालय बन्द भन्दा पनि चेतनामुलक अभियानलाई प्राथमिकता दिन जनप्रतिनिधि सहित सरोकारवाला निकायले सुझाव दिएपछि डिसिसिएमसीले नियमित विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकमा नेकपा एमालेका अध्यक्ष देबेन्द्र केसी, नेपाली कांग्रेसका सचिव हिरा पुन, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुविन जुग्जाली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा संघ संस्थाका प्रतिनिनिधले कोरोना रोकथामका लागि स्वास्थ्य मापदण्डको पालनालाई कडाइ गर्नुपर्नेमा जोड दिनुभएको थियो भने स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले खोपको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई विद्यालयमा खोप लगाउने अभियान जारी रहेकाले अभियान नै प्रभावित हुने अवस्था देखिएकाले तत्काल विद्यालय बन्द नगरी खोप अभियानलाई नै प्राथमिकता दिनुपर्नेमा सहभागीहरको सुझाव थियो ।

पछिल्ला केहि दिनयता ओमिक्रोन भेरियन्ट संक्रमण बढ्दो देखिएको छ । ओमिक्रोनबाट संक्रमित भएपछि ज्वरो आउने, निरन्तर टाउको दुख्ने, स्वाद वा गन्ध थाहा नहुने जस्ता कोभिड–१९ आम लक्षण देखिन्छन् । तर बेलायतमा गरिएको एक अध्ययन अनुसार ओमिक्रोनका संक्रमितमा यसअघिको भेरियन्टको संक्रमणमा नदेखिएका केही नयाँ लक्षण समेत रहेका छन् र कतिपय लक्षण रुघाखोकीसँग मिल्छन् ।