गलेश्वर शिवालय क्षेत्र विकास कोषको विशेष अधिवेशन सम्पन्न

विकल्प न्यूज/बेनी
पुस २४ गते ।

 गलेश्वर शिवालय क्षेत्र विकास कोषमा रहेको रकम एकीकृत गरेर भरपर्दो र प्रभावकारी हुने संस्थामा राख्न कोषका प्रमुख संरक्षक रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्देशन दिनुभएको छ ।

कोषको ७ औं विशेष अधिवेशन एवम् १६ औं कार्यकारी सभामा कोषका प्रमुख संरक्षक समेत रहनुभएका प्रजिअ रानाले कोषमा रहेको मौज्दात रकम विभिन्न सहकारी छरेर राख्न भन्दा एकीकृत गरेर भरपर्दो बैंकमा राख्न संचालक समितिलाई सुझाव दिनुभयो ।

साधारणसभामा प्रस्तुत प्रतिवेदनमा कोषले प्रतिस्पर्धा र निश्चित प्रक्रिया विनानै विभिन्न विभिन्न सहकारी संस्थाहरुमा २ करोड ७० लाख रकम राखेको देखेपछि प्रजिअ राना लगायत अन्य बक्ताले समेत प्रश्न उठाएका थिए । कोषका पदाधिकारी आवद्ध सहकारी संस्थाहरुमा मात्रै कोषको रकम जम्मा भएको भन्दै यस अघि विभिन्न ब्यक्तिहरुले समेत आलोचना गर्दै आएका थिए ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषमा रहेको २ करोड ७० लाख ३७ हजार ७७४ रुपैयाँ नगद मौज्दात विभिन्न सहकारी र बैंकमा बाडेर राखिएको प्रतिवेदनमा देखिन्छ ।

संस्थाका सदस्य सचिव माधवप्रसाद रेग्मीले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा कोषको नगद मौज्दात मुद्धती रकमतर्फ न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थामा ५ बर्षका लागि १ करोड, बेनी बचत तथा ऋण सहकारी संस्थामा २० लाख, दिदी बहीनी बचत तथा ऋण सहकारी संस्थामा १० लाख, गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्थामा १२ लाख, सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्थामा ८ लाख गरी १ करोड ५० लाख सहकारी क्षेत्रमा निश्चित समयका लागि राखिएको छ ।

बचत तर्फ रहेको १ करोड १९ लाख ८७ हजार ३४९ रुपैयाँ रकम ११ वटा बैंक तथा सहकारीमा राखेको प्रतिवेदनमा उल्लेख छ ।

बचत तर्फको नगद मौज्दात माछापुच्छे बैकमा ३ लाख ८७ हजार २८३ रुपैया, गरिमा विकास बैंकमा २२ लाख ९२ हजार ८० रुपैयाँ, न्यू धौलागिरी बचत तथा ऋृण सहकारी संस्थामा १८ लाख १२ हजार ५४३ रुपैया, गलेश्वर बहुउद्देश्यीय सहकारी संस्थामा ८ लाख ११ हजार ७०१ रुपैया, नेपाल बैंकमा ६ लाख ४ हजार २१७ रुपैया, मुक्तिनाथ विकास बैंकमा १६ हजार ९२ रुपैयाँ, प्रभु बैंकम १७ लाख २२ हजार ७५१ रुपैयाँ, नेपाल एस वि आई बैंकमा १० लाख ७०८ र बेनी बचत थता ऋण सहकारी संस्थामा ४२ लाख ७८ हजार ७७ रुपैया राखेको प्रतिवेदनमा देखिन्छ ।

धार्मिक एवम् पर्यटकिय गन्तब्यको परिचित गलेश्वर मन्दिर ९ रोपनी क्षेत्रफलमा फैलिएकोे छ । साउने सोमबार, शिवरात्री, बालाचर्तुदशी पर्वको अवसरमा विशेष मेला लाग्ने गलेश्वर मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले दानस्वरुप गलेश्वर धाम भेटी चढाउने गरेका छन् । अधिवेशनमा बोल्ने बक्ताबाट प्राप्त सुझावलाई आगामी दिन कार्यान्वयन गर्ने सदस्य सचिव रेग्मीले प्रतिवद्धता जनाउनुभएको थियो ।

साधारणसभामा संरक्षक सदस्य रमेश शर्मा, जिल्ला मालपोत कार्यालयका मोलपोत अधिकृत कृष्णबहादुर कार्की, बेनी नगरपालिका वडानम्वर ९ का वडाअध्यक्ष बेलबहादुर कटुवाल, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, धार्मिक क्षेत्रतर्फबाट नेत्र महत, संस्थाका सभाषद चक्रबहादुर केसीले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन कोषका कार्यालय प्रमुख राम बानियाँले गरेका थिए । अधिवेशनबाट माधव प्रसाद रेग्मीको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ ।