नेकपा एमाले म्याग्दीको नवौं अधिवेशनको तयारी पुरा

विकल्प न्यूज/म्याग्दी
पुस २१ गते ।

 
नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको पौष २३ गते ( भोली ) देखि सुरु हुने नवौँ जिल्ला अधिवेशनमा ५१० जना प्रतिनिधि छनौट भएका छन । अधिवेशनको पुर्व सन्ध्यामा बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हरिकृष्ण श्रेष्ठले जिल्ला भरबाट ५१० जना प्रतिनिधि छनौट गरिएको जानकारी दिनुभयो ।

प्रतिनिधिहरु भुगोलबाट ३५० जना, जिल्ला कमिटिबाट ५८ जना, सल्लाहकारबाट १०, पालिका कमिटिबाट १२, जनसंगठनबाट ३०, पेशागतबाट १०, र विभागबाट १२ गरि ४२८ जना छनौट भएका छन । त्यस्तै बिधान अनुसार सो संख्याको ५ प्रतिशत मनोनित गर्दा हुन आउने २८ जना मनोनित गरि ५१० जना प्रतिनिधिले अधिवेशनमा भाग लिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरि जिल्ला कमिटि ९० सदस्यीय हुने उहाँले बताउनुभयो । अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, र उपसचिव २ गरि पदाधिकारी ५, भूगोलबाट १२ महिला सहित ३१ जना, बेनी नगरपालिकाबाट ३ महिला सहित ८ जना, रघुगंगा, अन्नपूर्ण, मालिका र धौलागिरी गाउँपालिकाबाट २ महिला सहित ५ जना, मंगलाबाट १ महिला सहित ३ जना जिल्ला कमिटिमा निर्वाचित गरिने श्रेष्ठले बताउनुभयो ।

त्यस्तै दलितबाट २ महिला सहित ७ जना, मजदुरबाट १ महिला सहित २ जना, मुस्लिमबाट १ जना, अन्यबाट १ जना, जनजातीबाट ४ महिला सहित १३ जना, र खुल्लाबाट ९ महिला सहित २१ जना सदस्य निर्वाचित हुने ब्यबस्था रहेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा नेतृत्व सर्वसहमति बाटै हुन्छ या चुनाव भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले सकेसम्म सर्वसहमतिबाट नै नेतृत्व चयन हुने गरि छलफल अगाडि बढाइएको बताउनुभयो । अहिले पार्टी बिशेष अबस्थाबाट गुज्रिरहेकाले चुनाव भन्दा सर्वसहमतिकै बाटो रोजिने उहाँको भनाई थियो । कारणवश सहमतिको कसरत फेल भएमा लोकतान्त्रिक बिधि अपनाउदै आकाँक्षी धेरै देखिएका पदमा निर्वाचन गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज भुपेन्द्र थापा, गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्मा, जिल्ला कमिटि उपाध्यक्ष देबेन्द्र कटुवाल, सचिव बालकृष्ण सुवेदी, उपसचिव देव घले, सचिवालय सदस्य एवं आर्थिक बिभाग प्रमुख प्रमोद श्रेष्ठ, प्रचार बिभाग प्रमुख सुरज केसी, सचिवालय सदस्य दिपक कार्की, राजकुमार थापा, बेनी नगर कमिटि अध्यक्ष नारायण जिसी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।