ताजा समाचार:
Search

तातोपानीमा म्याग्दीका पत्रकारका लागि क्षमता विकास तालिम शुरु

तातोपानी, १७ पुष । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा शनिबार देखि म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु भएको छ ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, बेनी नगरपालिका र जिल्ला समन्वय समिति म्याग्दीको सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको समन्वयमा शुरु भएको तालिम तीन दिनसम्म चल्नेछ ।

४० जना सहभागी तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जिम्मेवार, बिश्वसनीय, मर्यादित र खोजमुलक पत्रकारिताको आवश्यकता रहेको बताउनुभयो । नागरिक अधिकारका साथसाथै राज्यका निकायलाई खबरदारी गर्ने सञ्चार माध्यमको भूमिका प्रभावकारी बनाउन क्षमता बिकास तालिम सहयोगी बन्ने उहाँको भनाई थियो ।

प्रमुख प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा, गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा र उपाध्यक्ष सोनी शर्माले प्रबिधीको प्रयोगसँगै पत्रकारितालाई बिबिधीकरण गर्नुपर्ने बताउनुभयो । पत्रकारितामा औपचारिकता र कपी पेस्टको समस्या देखिएको भन्दै मौलिकता र सिर्जनशिल सिपको बिकास गर्नुपर्ने बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले शुसासन, पारदर्शिता, बिकास र सेवा प्रवाहलाई पभावकारी बनाउन पत्रकारिता क्षेत्रले सजग र सचेत बनाउनुका साथै सकारात्मक कार्यको प्रर्वद्धनको पनि अपेक्षा गरिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र पुर्ब अध्यक्ष तारानाथ शर्माले जिल्लाका सञ्चार माध्यमको संख्यात्मक बृद्धी भएपनि सामग्रीलाई गुणस्तरीय, खोजमुलक, तथ्यपरक र अनुसन्धानमुलक बनाउनुपर्ने देखिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता र उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शाखा सचिब सन्तोष गौतमले गर्नुभएको थियो ।

प्रदेश सरकारको गण्डकीका ११ वटै जिल्लाका पत्रकारलाई तालिम दिने कार्यक्रम अन्तरगत यसअघि नवलपुर र बाग्लुङमा तालिम सम्पन्न भएको महासंघका प्रदेश महासचिब गोबिन्द सुबेदीले बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने तालिमको महासंघका पुर्व अध्यक्ष झा र अन्नपूर्ण पोष्ट्का संबाददाता कृष्णमणी बरालले सहजिकरण गर्नुहुने जनाइएको छ । खोज, फिचर,  फोटो र भिडियो सम्बन्धी प्राबिधिक तथा ब्यवहारिक ज्ञानसिप प्रदान गरिने महासचिब सुबेदीले बताउनुभयो ।