ताजा समाचार:
Search

गुर्जामा हिउँमा पुरिएर एकजना वेपत्ता, गाउँमा सञ्चार सेवा अवरुद्ध

विकल्प न्यूज/बेनी
पुस १५ गते ।

फाईल तस्विर 

 म्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा हिउँमा पुरिएर विहिवार एकजना वेपत्ता हु्नुभएको छ ।
गुर्जाको सुकेलट्टेमा हिउँपातका कारण गोठ भत्किँदा ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य तिनजना हिउँमा फसेर अलपत्र परेका छन् ।बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र परेको उहाँले बताउनुभयो । बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर बोलाउन पहल गरिएको छ ।

भारीमात्रामा भएको हिमपातका कारण गुर्जा जाने पदमार्ग,विद्युत र मोवाइल तथा इन्टरनेट सेवा बन्द भएको छ । गुर्जा पुग्न गाउँपालिका केन्द्र मुना देखि एकदिन लाग्छ ।

बाक्लो मात्रामा हिमपात भएकाले टेलिफोन र इन्टरनेटका सेवा प्रवाहका लागि स्थापना गरिएको टावरमा क्षति पुगेकाले सेवा बन्द भएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । मौसम सफा भएपछि मात्र मर्मत गरेर सेवा सुचारु गर्न सकिने उहाँले बताउनुभयो । सञ्चारसेवा अवरुद्ध हुँदा गुर्जावासीको जनजिवन प्रभावित बनेको उहाँको भनाई छ ।

त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन् । धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोसलगायतका बस्तीमा घरका छाना ढाकिएका छन् भने जमिन पूरै ढाकिएको छ । रुखसमेत हिउँले सेताम्मे बनेका छन् । हिउँ परेपछि कृषक खुसी भए पनि पशुपालन गर्ने किसान भने घाँसपातको बन्दोबस्त मिलाउन नसकेर समस्यामा परेका छन् ।

घर र हिँड्ने बाटो पनि हिउँले पुरिएपछि स्थानीयवासीलाई निकै सकल भएको मुदी सिंकोस बगर आस्मन पुर्जाले बताउनुभयो।

समुद्री सतहदेखि तीन हजार २२० मिटर उचाइमा अवस्थित जिल्लाको अतिविकट मानिने गूर्जा गाउँ तथा आसपासका क्षेत्र भारी हिमपात भएको छ । गुर्जा गाउँ आसपासमा आवतजावत गर्ने पदैलमार्गमा समेत छपक्कै हिमपात छोपेका कारण गाउँको जनजीवन कष्टकर बनेको छ ।