रघुगंगामा विकासको जग बसालेका छौं ः अध्यक्ष भण्डारी

विकल्प न्यूज/बेनी
पुस ९ गते ।

 

म्याग्दीको रघुगंगगा गाउँपालिकाको ११ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका केन्द्र मौवाफाँटमा आयोजना गरिएको गाउँसभाको उद्घाटन गर्दै पालिका अध्यक्ष भबहादुर भण्डारीले स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि विकासको जग बसालिएको बताउनुभयो । पालिकाको विकासका लागि राजनीतिक दल,प्रदेश र संघ सरकारको साथ र सहयोग रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष भण्डारीले पालिकामा रहेको सिमित स्रोतसाधनको उच्चतम परिचालन गरेर सडक,खानेपानी, शिक्षा,स्वास्थ्य,पर्यटन र विपद व्यवस्थापनमा गाउँपालिकाले महत्वपूर्ण कामहरुको थालनी गरेको बताउनुभयो ।

जनप्रतिनिधि आएपछि रघुगंगामा दुर्गम भेगका सर्वसाधरणहरुमा सडक र स्वास्थ्यको पहुँच विस्तार भएको उहाँले बताउनुभयो । दुर्गम भेगलाई सडक सञ्जालसँग जोड्न पालिकाले पाँच वर्षमा सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको उहाँले बताउनुभयो । टुक्रे योजनालाई निरुत्साहित गर्दै प्रत्येक वडामा गौरबको योजना निर्माण गरी काम गरिएको उहाँको भनाई थियो ।

आफूहरुको कार्यकाल अन्तिम अवस्थामा आएको बताउँदै उहाँले यो अवधिमा जनताको सेवा र पालिकाको विकासका लागि जनप्रतिनिधिहरु र कर्मचारीले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई थियो ।

कोरोना महामारी नियन्त्रणका लागि पालिकाले राम्रो काम गरेको उहाँले बताउनुभयो । ग्रामिण भेगमा राष्ट्रिय प्रशारण लाइनको विस्तारका लागि पालिकाले पहल गरेको बताउनुभयो ।

आफ्नो कार्यकालमा दग्नाम,दर्मिजा,चिमखोला हुँदै कुइनेमंगलेका दुर्गम भेगमा सडक विस्तार गरेको उहाँले बताउनुभयो । पालिकामा उपलब्ध भएको साधनस्रोतको परिचालन गरेर ८ वटै वडाका वस्तीहरुमा सडक पु¥याउने काम गरेको उहाँको भनाई थियो ।

गाउँसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै वडाध्यक्षहरुले जनताको आशा र अपेक्षा अनुसार सिमित स्रोतसाधन र सुरुवातीमा जनशक्तिको अभावका कारण जनअपेक्षा अनुसार काम नभएपनि पालिकामा विकासको जग बसालिएको बताएका थिए । जनप्रतिनिधिहरुको एकता र कर्मचारीको उत्कृष्ट कार्यसम्पादनले पालिकामा विकास गर्न सहज भएको उहाँहरुको भनाई थियो ।

गाउँसभामा पालिका अध्यक्ष भण्डारीले चालु आर्थिक वर्षको मंसिर मसान्त सम्मको प्रगति विवरण पेश गर्नुभएको थियो । चालु आर्थिक वर्षको जम्मा विनियोजित बजेट ४५ करोड ९ लाख ० हजार मध्य चालु तर्फ ३० करोड ३३ लाख ८४ हजार ३ सय र पुँजीगत तर्फ १४ करोड ७५ लाख २४ हजार ७ सय रुपियाँ रहेको जानकारी दिनुभयो ।

मंसिर मसान्त सम्म चालु तर्फ ६ करोड ८० लाख ५८ हजार (२२,२२ प्रतिशत) र पुँजीगत खर्च १ करोड १९ लाख ३६ हजार रुपियाँ (८,९० प्रतिशत) गरी जम्मा १७,६१ प्रतिशत खर्च भएको सभामा अध्यक्ष भण्डारीले जानकारी गराउनुभएको थियो ।
अध्यक्ष भण्डारीले पेश गर्नुभएको पालिकाको प्रगति र संस्था दर्ता विधेयक छलफलपछि पारित भएको हो । संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ ।

सभाले पालिकाको बिनियोजन गर्न बाँकी बजेट बाँडफाड

पालिकाको नगद मौज्दातबाट विभिन्न २९ योजनाका लागि करोड ६२ लाख ४१ हजार दुईसय पाँच रुपियाँ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, वडा नम्बर ५ झिँको वडा कार्यालयको जग्गा प्राप्तीको रकम भुक्तानीका लागि रु ३० लाख र गाउँपालिकाको सभाहलका लागि रु २५ लाख बजेट विनियोजन भएको छ । त्यसैगरि झिँ–पाखापानी सडक कालोपत्रेका लागि प्रदेश सरकारको योजनामा साझेदारीका लागि रु २५ लाख बजेट समेत विनियोजन गरिएको छ ।

त्यसैगरि दुई वटा योजाको रु ५० लाख १० हजार रकमलाई संशोधन गरि २२ वटा योजनामा रकम विनियोजन गरिएको छ । अन्य सार्वजनिक निर्माणतर्फ ३ वटा योजनामा रु ५ लाख बजेट विनियोजन भएको छ । सभामा गाउँपालिका अध्यक्ष भण्डारीले चालु आर्थिक बर्षका लागि विनियोजन भएका योजनाको प्रभाबकारी कार्यान्वयमा सम्बन्धित उपभोक्ता र जनप्रतिनिधि जुट्नुपर्ने बताउनुभयो ।

सभामा लेखा समितिका संयोजक रिम कटुवालद्धारा प्रस्तुत बेरुजु फस्यौट सम्बन्धी प्रस्ताब बमोजिम रु ४५ लाख बराबरको बेरुजु नियमित गर्ने निर्णय समेत भएको छ ।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले संघीय संरचनाको पहिलो कार्यकाल भएकाले अनेकौ चुनौति र समस्याहरुका कारण जनताको अपेक्षा बमोजिम विकास निर्माण हुन नसकेपनि सन्तोषजनक रुपमा गाउँपालिकामा विकासका पूर्वाधारहरु बनेकोमा जोड दिनुभयो ।

त्यसैगरि वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी, २ का अध्यक्ष रिम कटुवाल, ३ का अध्यक्ष जीवनकुमार मल्ल, ४ का अध्यक्ष रुकबहादुर गर्वुजा, ५ का अध्यक्ष मनबहादुर शेरमञ्जा, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ७ का वडा सदस्य लक्ष्मण पुन र ८ का वडा सदस्य प्रीति गर्वुजाले गाउँपालिका मार्फत कार्यान्वयन भएका विकास निर्माण योजनाहरुलाई पारदर्शी र प्रभाबकारी बनाउन वडा मार्फत आबश्यक पहल गरिरहेकोमा जोड दिनुभएको थियो ।

गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष तिलिजाको स्वागत र प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।