बिद्युत सेवा बन्द भएपछि लुलाङ गाउँको जनजीवन प्रभावित

ठाकुरप्रसाद आचार्य/बेनी
पुस ६ गते ।

म्याग्दीको पश्चिम धवलागिरि गाउँपालिका २ दुर्गम लुलाङ गाउँ चारमहिना देखि अन्धारमय बनेको छ । गत भदौं २० गते दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको हो ।

वाढीका कारण परियोजनाको मरेनी स्थित विद्युत गृहको भवन, जेनेटर, एलसी बोर्ड हिटर र प्रशारण लाइन बगाउँदा करिब ३० लाख बराबरको क्षति पुगेको गाउँलेहरुले अनुमान गरेका छन् ।

परियोजना पुननिर्माण गरी विद्युत सेवा सुचारु गर्न सम्बन्धित निकायमा हारगुहार गरेपनि कहिकतैबाट सुनुवाई नभएको गाउँलेहरुले गुनासो गरेका छन् । विद्युत नभएपछि विद्यालय, स्वास्थ्यचौकीसहित गाउँको जनजीवन नराम्रो सँग प्रभावित बनेको छ । घरमा विजुली नभएपछि बालबालिकाहरुको पढाई प्रभावित बनेको छ ।

परियोजनाबाट गाउँका तिनसय ५४ घरधुरीमा विद्युत सेवा पुगेको थियो । विद्युत नभएपछि टुकीको भरमा विद्यार्थीहरुले पढ्नुपर्ने बाध्यता भएको स्थानीयवासी भक्तबहादुर सिंकिजा पुनमगरले बताउनुभयो । विद्युत नहुँदा गाउँमा रहेका कुटानी पिसानी गर्ने मिल,फर्निचर उद्योग र मासुपसल बन्द भएका छन् । भने गाउँलेहरु सञ्चार सेवाबाट समेत बञ्चित हुनुपरेको छ । मोवाइल चार्ज गर्न छिमेकी गाउँ जानुपर्ने बाध्यता भएको स्थानीयवासी ज्ञानबहादुर पाइजाले बताउनुभयो । विद्युत नभएका कारण टिभी लगायत सञ्चार माध्यमबाट बञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।

‘चार महिना देखि गाउँ अन्धरकामय बनेको छ, मर्मत सम्भार गर्न रकमको खाँचो छ । दुई वर्ष अघि निर्माण गर्दा लागेको ऋण भुक्तानी गर्न वाँकी नै छ,फेरी मर्मत गर्न लाग्ने खर्च कसरी जुटाउने हामी समस्यामा छौं ’पुनमगरले भन्नुभयो । पालिका र प्रदेशले मर्मत गर्ने आश्वासन दिए पनि अझै काम सुरु नभएको उहाँको भनाई छ ।

२०७६ मा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ८५ लाख ९७ हजार,जनश्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख ३ हजार गरी एककरोड ७४ लाख रुपियाँ लागतमा परियोजना निर्माण गरिएको उपभोक्ता समितिका सचिव लालबहादुर खड्का थोकीले बताउनुभयो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले अझै ४२ लाख ४३ हजार रुपियाँ भुक्तानी गर्न वाँकी रहेकाले ओसिन पावर सर्भिस प्रा.लि बुटबललाई करिब ३३ लाख र काम गर्ने मजदुरलाई रकम भुक्तानी गर्न वाँकी रहेको उहाँले बताउनुभयो । परियोजना निर्माण गर्दा लागेको ऋण अझै भुक्तानी गर्न सकेका छैनौं सचिव खड्का थोकीले भन्नुभयो ‘ऋणमा ढुबेका गाउँलेहरु परियोजना बाढीले बगाएपछि अन्धकारमा बस्न बाध्य भएका छौं ।’

गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले परियोजना मर्मत गरी गाउँमा विद्युत सेवा सुचारु गराउन पालिकाबाट १० लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट १० लाख गरी २० लाख रुपियाँमा विनियोजन भएको बताउनुभयो । विनियोजन भएको रकमबाट तत्काल परियोजना मर्मत थालिने उहाँको भनाई छ । दरखोलाको किनारमा रहेको विद्युत गृहलाई केही माथि लगेर निर्माण गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । ‘अवको एकदुई महिना भित्र विद्युत सेवा सुचारु गर्ने गरी तिव्ररुपमा काम गर्ने योजना छ ’ उहाँले भन्नुभयो ।