बेनीमा एकतर्फी यातायात कार्यान्वयनमा सहज कि असहज !

विकल्प न्यूज/बेनी
पुस ६ गते ।


सदरमुकाम बेनीमा ट्राफिक व्यवस्थापन गर्न एकतर्फी यातायात सञ्चालन गरिएको छ । एकहप्ता अघि बजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइपछि पौष १ गते देखि बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा एकतर्फी यातायात सञ्चालन गर्ने नियम लागू गरिएको हो । बजारलाई सुन्दर र व्यवस्थित बनाउन ति कदमहरु चालिएको सम्बन्धित निकायको दावी छ ।

यसभन्दा अघि एकतर्फी पार्कीङको व्यवस्था लागू गरिएको थियो । उक्त नियम अहिले प्रभावकारी रुपमा कार्यान्वयन पनि भएको छ । जसले बजारलाई सुन्दर र व्यवस्थित बनाएको छ । साघुरो सडकका कारण सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न एकतर्फी यातायात सञ्चालन गर्ने नियमा लागू गरिएको ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले बताउनुभयो ।

यता सर्वसाधरणहरुले भने एकतर्फी यातायात सञ्चालनको असहज महशुष गरेका छन् । सानो बजार क्षेत्र भएकाले एकतर्फी यातायात सञ्चालन गर्दा सर्वसाधरणहरुलाई समस्या भएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ ।

बेनी नगरपालिकाको कार्यालयमा गत मंसिर १४ गते बसेको सरोकारवालाहरुको बैठकले पौष १ गते देखि एकतर्फी रुपमा सवारी साधन संचालन गर्ने नियम लागू गर्ने निर्णय गरेको थियो । क्याम्पसचोक देखि सुरु भई गणेशटोल, संगमचोक, बालमन्दिरचोक, बिरेन्द्रचोक, हुलाकचोक न्यरोड हुँदै क्याम्पसचोकको सडकमा एकतर्फी सवारी संचालन हुने व्यवस्था गरिएको छ । नियमलाई लागू गर्न चोकचोकमा प्रहरी खटाइएको छ ।

नियमलाई लागू गर्न ट्राफिक प्रहरीले नमस्ते अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत पहिलो चरणमा सम्झाई बुझाई गर्ने, जानकारी बोर्डहरु राख्ने लागयतका कार्यक्रमहरु रहेको ट्राफिक प्रमुख नेपालीले बताउनुभयो । एकतर्फी यातायात सञ्चालन नियम लागू भएपछि बजार क्षेत्रमा ट्राफिक व्यवस्थित भएको उहाँले बताउनुभयो । यो नियमलाई लागू गर्न सर्वसाधरणहरुको साथ र सहयोग अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

बजार क्षेत्रभित्रको सडक साँघुरो भएकाले दुर्घटना न्युनीकरण गर्न, ट्राफिक लाई ब्यबस्थित बनाउन, पैदल यात्रालाई सहज बनाउन र सवारीको जाम हटाउनका लागि पनि एकतर्फी यातायात संचालन लागू गरिएको नेपालीले बताउनुभयो । ट्राफिक प्रहरी चोक चोकमा बसेर सवारीचालकहरुलाई नमस्ते अभियान सहित जानकारी गराउने ब्यबस्था गरिएको उहाँको भनाई छ ।