सभापति खम्बिरको अङ्गालोले दिन खोजेको सन्देश

विकल्प न्यूज /बेनी
मंसिर १५ गते । बुधवार विहान नेपाली कांग्रेसको बेनी स्थित पार्टी कार्यालयमा भिन्न दृश्यहरु देखिएका थिए । काँग्रेसको आसन्न १४ औं महाधिवेशन र प्रदेश अधिवेशनका लागि म्याग्दीबाट उम्मेदवार घोषणा कार्यक्रम राखिएको थियो ।

संविधानसभा सदस्य तथा पूर्व पार्टी सभापति रेशमबहादुर बानियाँले केन्द्रिय सदस्यका लागि र पूर्व जिल्ला सहसभापति नेत्रबहादुर महतले गण्डकी प्रदेशको उपसभापतिमा उम्मेदवारी घोषणा गरे । पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका अधिकांश नेताहरु सहभागि थिए ।

भरर्खर सम्पन्न जिल्ला अधिवेशनमा पराजित भएका नेताहरुको पनि उपस्थिति थियो । कार्यक्रममा देखिएका केही चित्रहरुले नेताहरुका विच एकताको सन्देशन दिन खोजेको देखिन्थ्यो ।

पालिका देखि जिल्ला अधिवेशनसम्म फरक फरक समुह बनाएर निर्वाचनमा होमिएका नेताहरु बुधवारको उम्मेदवार घोषणा कार्यक्रमसम्म आउँदा एक भएको सन्देश दिए । पार्टी सभापति खम्बिर गर्बुजाले बानियाँ र महतलाई जिताउन अङ्गालो हालेर अनुरोध गरे । ‘पार्टीको जुनसुकै समुहबाट उम्मेदवारी दिएपनि उहाँहरु म्याग्दी काँग्रेसको साझा उम्मेदवार हुन जिताउने जिम्मेवारी हाम्रो हो’ सभापति गर्बुजाले भने ।

जिल्लामा नेताहरु पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पक्षधरमा विभाजन छन् । महाधिवेशन प्रतिनिधिमा दुवै पक्षका छन् । केन्द्रमा आ–आफ्ना नेताहरुलाई जिताउन लागेपनि जिल्लाका नेताहरुलाई जिताउने सन्दर्भमा उनीहरु एकठाम उभिने संकेत गरेका छन् ।

केन्द्रका नेताहरुको दवाव पनि एकातिर हुनसक्छ । तर राष्ट्रिय राजनीतिमा म्याग्दीको पहुँच बढाउन पार्टी सस्थापन पक्षीय नेताहरुलाई बानियाँको विकल्प छैन । यस्तै प्रदेश उपसभापतिमा उम्मेदवारी घोषणा गरेका महतलाई जिताउन जिल्लाका पौडेल पक्षधर प्रतिनिधिहरुका लागि पनि अर्को विकल्प छैन ।

काँग्रेस नेता तथा कार्यक्रर्ताहरुलाई नेताहरुको एकताको सन्देश दिन पनि सभापति गर्बुजाले दुवै उम्मेदवारलाई अङ्गालो हाले । ‘खुला र सफा मन भएका गर्बुजामा निर्वाचनको कुनै तुष छैन ।

उहाँले अर्को पक्षका नेता तथा कार्यकर्ताको पनि साथ लिएर काँग्रेसलाई बलियो बनाउन लाग्नुभएको छ । विरोधी नजरले होइन सहयोगी नजरले हेर्ने उहाँको संस्कार छ । केन्द्रमा गुट भएपनि जिल्लामा काँग्रेस एकजुट छ भन्ने सन्देश उहाँले दिनुभएको छ । आजको कार्यक्रममा उहाँको प्रस्तुतीले पनि यही सन्देश प्रवाह गरेको देखिन्छ ’ एक नेताले भने ।

काँग्रेसलाई जिल्लामा एक ढिक्का बनाएर आगमी प्रतिनिधिसभा निर्वाचनमा आफूले बाजी मार्ने दाउँमा सभापति गर्बुजा छन् । कम्युनिष्टहरु फुटेका बेलामा काँग्रेसलाई एकताबद्ध बनाउन सके सहजै जित हासिल गर्न सक्ने गर्बुजाको आशा छ ।