बेनी नगरका प्रमुख प्रशासकीय अधिकृत माथिको आक्रमण प्रयासको सर्वत्र विरोध

विकल्प न्यूज/बेनी
असोज २४ गते ।

 म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी माथि भएको आक्रमणको सर्वत्र रुपमा विरोध र निन्दा गरिएको छ । नागरिकलाई सेवा प्रवाह गरिरहेका समयमा राष्ट्रसेवक कर्मचारीमाथि आक्रमणको प्रयास गर्नु निन्दनीय र खेदजनक भएको भन्दै विभिन्न व्यक्ति र संघसंस्थाका प्रतिनिधिहरुले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत माथि आइतबार १२ बजेको समयमा विप्लव समर्थित केही व्यक्तिहरु कार्यकक्षमा पसेर आक्रमण र अभद्र व्यवहार गरेका थिए । यसैविच नगरप्रमुख हरिकुमार श्रेष्ठद्धारा विज्ञप्ती प्रकाशित गरि घटनामा संलग्नलाई कारबाहीको माग गर्नुभएको छ ।

आइतबार दिउँसो करिब साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका चार जनाको समुहले प्रशासकीय अधिकृत सुवेदीलाई कालो झोलिलो पदार्थ प्रहार गरि दुव्र्यवहार गरेका हुन् । विज्ञप्त्तीमा आतंक र धरपकडले सुरक्षा चुनौती थपेको भन्दै फरार रहेका तीन जनालाई अबिलम्ब खोजी गरि आबश्यक अनुसंधान सहित कडा भन्दा कडा कारबाहीको माग गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको र केहि जनप्रतिनिधि समेत कार्यकक्षमै भएको समयमा उक्त समुहले सुवेदीमाथि दुव्र्यवहार गरेको जनाइएको छ । कार्यालयको सेवा प्रवाह गरिरहेकै समयमा आफुमाथि छापामार शैलिमा दुव्र्यवहार भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

 

झोलाबाट डब्बामा ल्याएको मोबिल जस्तो देखिने कालो झोलिलो पदार्थ सुवेदीलाई छ्यापेर भाग्दै गर्दा उक्त घटनामा संलग्न मुगुका १८ वर्षीय बिजय बिकलाई प्रत्यक्षदर्शी जनप्रतिनीधि र कर्मचारीहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । पक्राउ परेका विकको साथमा रहेको झोलामा नेत्रबिक्रम चन्द् नेतृत्वको (नेकपा) निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद र उनले लगाएको पाइन्टको खल्तीमा ढुंगा समेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद भएको सामाग्री र पक्राउ परेका व्यक्तिबाट थप अनुसंधान प्रकृया अघि बढाईएको र घटनामा संलग्न अन्यको खोजीकार्य भैरहेको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।