मध्य भोटेकोशी जलविद्युतकाे सेयर सर्वसाधारणका लागि खुल्ला

विकल्प न्युज/ बेनी

असाेज २० गते । 

मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।

कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ९० लाख कित्ता सेयर विक्री खुल्ला गरेको हो ।

कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार अर्थात कुल निष्काशनको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको छ भने ४ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको छ ।

यद्यपि, माग गरेभन्दा बढी आवेदन पर्ने देखिएकाले गोलाप्रथाबाट हुने सेयर बाँडफाँडमा ८ लाख १९ हजार आवेदकले प्रतिव्यक्ति १० कित्ताको दरले मात्र सेयर पाउने देखिन्छ ।

कम्पनीले यसअघि सिन्धुपाल्चोकका स्थानीय, सञ्चय कोषका सञ्चयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ । उनीहरुले सर्वसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन पाउने छैनन् ।