५२ बर्षपछि घर फर्किए थामडाँडाका गुरुङ, परिवारमा खुसीयाली

विकल्प न्यूज/बेनी
असोज २० गते ।


परिवारले आश मारिसकेको व्यक्ति वर्षौपछि टुप्लुक्क घरमा आउँदा घरपरिवारमा कस्तो महशुष होला ? यो क्षणमा खुसीको सीमा हुने त कुरानै भएन । यो दुई चारवर्षको कुरा होइन,पाँच दशक सम्म परिवारबाट सम्पर्क विच्छेद हुनुभएका एक पुरुषको पारिवारिक पुनर्मिलनले घरपरिवारको खुसी फर्किएको छ ।

घरबाट हराएको ५२ बर्षपछि बेनी नगरपालिका ४ थामडाँडाका ७५ वर्षीय गंगाबहादुर गुरुङ (जंगबहादुर भनिने) घर फर्किनुभएको छ । वि.स २०२३ सालमा घरपरिवारबाट हराएका गुरुङ मंगलबार आफन्त सँग पुनर्मिलन भएको हो ।

घरबाट निस्किएका तत्कालिन समयमा अतरियादेखि डढेलधुराको महेन्द्रराजमार्गमा काम गर्दार्दै ठेकेदारले पारिश्रमिक नदिएपछि पैदल हिँडेर कैलालीको मस्य गाउँमा पुगेको गुरुङले बताउनुभयो । त्यहाँ पुगेपछि स्थानीयसंग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर माछा मार्ने पेशा गरेर जिविकोपार्जन गरेको उहाँले बताउनुभयो । बुढेशकालले छोएपछि आफूलाई जन्मथलोमा जान मन लागेको स्थानीयहरुलाई बताएको गुरुङले बताउनुभयो ।

स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्बिर सहित बागलुङ, बेनी, तातोपानीको नाम लिने उहाँलाई आफ्नो पुख्र्याैली थलो फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाईटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।

रेडक्रस अन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट बर्षौदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबिच टेलिफोनमा सम्वाद गराइएको थियो । आफन्तले झण्डै ६० वटा बढी प्रश्न मार्फत आफन्तको नाम, तत्कालिन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उहाँले दिनुभएको जवाफले उहाँको एकिन भएको थियो ।

कैलालीमा स्थानीय प्रतिष्ठीत एक व्यक्तिको साहरामा एक्लै बसोबास गर्दै आउनुभएका गुरुङ थामडाँडाका बलबिर गुरुङका हराएका माईला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उहाँका भाइका परिवारसंग मंगलवार पुनर्मिलन गराइएको हो । गुरुङका भाईका छोरा शेरबहादुर र छोरी विष्सु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलालीमै पुगेर आफ्ना माईलो बुबालाई उद्धार गरि ल्याएका हुन ।

रेडक्रस म्याग्दीको कार्यालयमा औपचारिक रुपमा गुरुङको पारिवारिक पुनर्मिलन गराईएको थियो । रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनन्जयकुमार श्रेष्ठ, सहित रेडक्रसकर्मीहरुको उपस्थितिमा गुरुङको पारिवारिक पुर्नमिलन गराइएको छ । ‘‘पचास बर्ष भन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ, घरबाट हराएर दुरदराजमा पुगेपनि बुढेसकालमा गुरुङले आफ्नो जन्मघर र आफन्तलाई पाउनु अति उपलब्धीमुलक कुरा हो’’रेडक्रस म्याग्दीका सभापति हमालले भन्नुभयोे । उहाँका अनुसार, बेनीदेखि कैलाली सम्म पुगेर गुरुङको उद्धारका लागि आबश्यक यातयातको सबै खर्च रेडक्रस म्याग्दीले व्यहोरेको छ ।

टेलिफोनको वार्तालापबाट आफ्नो माईलो बुबा नै भएको पुष्टि गरी कैलाली पुगेका शेरबहादुरले अनुहार समेत आफ्नो बुबाहरुसंग मिल्ने र जन्मथलोको सबै विवरण एकिन गरेर बताएपछि आफन्तसंग सरसल्लाह गरि उहाँलाई घरमा ल्याएको बताउनुभयो । ‘‘उहाँ हराएको बारेमा घरपरिवारमा कुराकानी हुन्थ्यो, तर यसरी भेटिनुहोला भनेर सोचेका पनि थियनौँ, सामाजिक सञ्जाल र रेडक्रसको सहयोगले ५२ बर्षदेखि हराउनुभएका माईलो बुबालाई हामीले पाउन सफल भयौँ, सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दछाँै’’–शेरवहादुरले भन्नुभयो । आफन्त सहित मस्य गाउँमा पुगेका गुरुङका आफन्तलाई गाउँलेहरुले भव्य सम्मान सहित विदाई गरेका थिए ।