म्याग्दीको सिंगा तातापानीमा प्राकृतिक चिकित्सालय खुल्दै (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असोज १९ गते ।

 

म्याग्दीको प्रशिद्ध तातोपानी कुण्डलाई प्रयोग गरेर नेपालमै पहिलो प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ । बेनी नगरपालिका ४ सिंगामा तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याउने तयारी गरिएको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक तातोपानीलाई प्रयोग गरेर योगाथेरापी,फिजियोथेरापी,मसाज थेरापी,जलचिकित्सा, अकुपंचर र डाईथेरापी विधिबाट विरामीको उपचार गर्न प्राकृतिक चिकित्सालय बनाउन लागेको हो ।

‘अहिले तातोपानीका पोखरीहरुमा विरामीले स्नान गरेर रोग निको बनाउने गर्दछन् । तातोपानी कुण्डलाई थप व्यवस्थित बनाउँदै चिकित्सकले तातोपानीको प्रयोग गरेर रोग निको बनाउने प्राकृतिक विधिको प्रयोग गर्नका लागि प्राकृतिक अस्पताल निर्माण गर्न लागिएको हो’ कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले भन्नुभयो । उहाँका अनुसार प्राकृतिक तातोपानीको प्रयोग गरेर उपचार गर्ने विधिका लागि बनाउन लागिएको अस्पताल नेपालमै पहिलो हो ।

संघीय सरकारको गत आर्थिक वर्षको ५० लाख रुपियाँ र कुण्डको आन्तरिक आम्दानी ५० लाख गरी एककरोड रुपियाँ लगानीमा अस्पतालका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ । साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरणहरु खरिद गरिएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

अकुपंचर,योगाहल,फिजीयोथेरापीका लागि ५ वटा बेड तयारी गरिएको र मसाज थेरापी लगायतका लागि पूर्वाधार निर्माण भइसकेको सचिव केसीले जानकारी दिनुभयो । कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिने गरी एकजना प्राकृतिक चिकित्सक भर्ना गरिएको उहाँले बताउनुभयो ।

मसाज थेरापी र योगाथेरापीका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन गरिएको र दशैं लगत्तै अस्पताल सञ्चालन गरी विरामीको उपचार सुरु गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा. आयुशा अधिकारीले बताउनुभयो । चिकित्सालयका लागि फिजियो थेरापिष्ट,मसाज थेरापिष्ट र नर्सिङ स्टाप सहित १५ देखि २० जना स्वास्थ्य जनशक्ति आवश्यक पर्ने उहाँले बताउनुभयो ।

तातोपानीका पोखरीमा स्थानीयले पराम्परागत शैलीमा डुबुल्की मारेर उपचार गर्थे । अव अन्य प्राकृतिक उपचार विधि प्रयोग गरेर विरामीको रोग निको बनाउने गरिन्छ डा. अधिकारीले भन्नुभयो, ‘अस्पताल सञ्चालनमा आएपछि योगाथेरापी,जलचिकित्सा,अकुपंचर,डाईथेरापी लगायत प्राकृतिक विधिबाट तातोपानीको प्रयोग गरेर विरामीको उपचार गरिन्छ ।’ म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने विश्वास छ ।