ताजा समाचार:
Search

बेनीमा ११ औं तोरन्ल गोल्डकप प्रतियोगिता सुरू (फोटोसहित)

ठाकुरप्रसाद आचार्य / म्याग्दी
असोज १५ गते ।

थकालीको समुदायको सांस्कृति पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबार देखि बेनीमा पहिलोपटक सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समुहका एकसय १८ खेलाडीहरुले भाग लिएका छन् ।

खेलको उदघाटन गर्नुहुँदै प्रतिनिधिसभाका सांसद प्रेमप्रसाद तुलाचनले थकाली समुदायको पहिचानका रुपमा रहेको ताराखेललाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतियोगिताले सघाउ पुग्ने बताउनुभयो ।

थकाली समुदायको पौराणीक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक तिन÷तिन वर्षमा प्रतियोगिता आयोजना हुने थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताउनुभयो । कोरोना भाइरस संक्रमणका कारण गत वर्ष हुने खेल रोकिएर यसवर्ष भएको उहाँले बताउनुभयो ।

प्रतियोगिताको बिजेताले नगद एकलाख रुपियाँ र पाँचतोला सुनको गोल्डकप, शिल्ड, प्रमाणपत्र र मेडल तथा दोस्रोले पचास हजार रुपियाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तृतिय हुनेलाई नगद २५ हजार, मेडल र प्रमणपत्र तथा चौथो, पाँचौ हुने समूहलाई १० हजार र पाँच हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

खेललाई दिगोरुपमा सञ्चालन गर्न अक्षयकोषको स्थापना गरिएको थकाली सेवा समितिका केन्द्रिय अध्यक्ष सोम तुलाचनले बताउनुभयो । कोषमा अहिले सम्म ५१ लाख ५४ हजार रुपियाँ जम्मा भइसकेको उहाँले बताउनुभयो । बेनीको थकाली सेवा समाजको सभाहलमा भएको कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,बेनपा ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन हुनुपुर्व थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजा सहित बेनी बजार परिक्रमा गरिएको थियो ।