ताजा समाचार:
Search

म्याग्दीमा काँग्रेसको पालिका अधिवेशन ः नेतृत्वमा युवाको वर्चस्व

विकल्प न्यूज/बेनी
असोज १२ गते ।


नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न भएको गाउँ तथा नगर अधिवेशनबाट अधिकांश पदहरुमा युवा नेतृत्वको उदय भएको छ । काँग्रेसलाई बुढापाकाको पार्टी भएको र युवालाई अवसर नदिएको लाग्ने गरेको आरोप यसपटकको अधिवेशनबाट तोडिएको छ । शनिबार सम्पन्न अधिवेशनबाट ४ वटा पालिकामा युवाको नेतृत्व स्थापित भएको छ । अन्य दुईमा पनि पदाधिकारी र सदस्यहरुमा अधिकांश युवा निर्वाचित भएका छन् । आइतबार सम्पन्न बेनी नगरपालिकामा पनि युवाको वर्चस्व छ । पदाधिकारी र सदस्यहरु अधिकांशमा युवा निर्वाचित भए ।
जिल्लाको पालिका कार्यसमितिमा पनि ६० प्रतिशत युवा निर्वाचित भएका छन् । विधानमै व्यवस्था गरेर समावेशीतालाई आत्मसाथ गरेकाले जनजाती,महिला,दलित,खसआर्य र अल्पसंख्याक समुदायको कार्यसमितिमा बलियो उपस्थिति रहेको देखिन्छ । अधिवेशनबाट नेतृत्वमा आउन युवाको आकर्षण देखिनुले काँग्रेसमा युवा नेतृत्वको उदयको युग सुरुवात भएको काँग्रेसजनहरु बताउँछन् । तर राजनीतिमा युवाको नेतृत्व दिगो हुन्छ वा हुँदैन भन्ने चिन्ता भने छाएको छ ।

राजनीति एक समाज सेवा भएकाले युवापक्ति विभिन्न अवसरको खोजीमा रहेकाले राजनैतिक नेतृत्व सफल र दिगो नहुनेमा काँग्रेसजनहरुले चिन्ता व्यक्त गर्न समेत थालेका छन् । लहलहैमा गुटमा लाग्ने र नेतृत्वमा आउने प्रवृत्तिले पार्टीलाई फाइदा नपुग्ने एक काँग्रेस नेताले बताए । ‘पार्टीमा युवा आउनु सकरात्मक हो, युवा नेतृत्वले पार्टीलाई गतिशिल बनाउन सहयोग पु¥याउछ तर लामो समय सम्म युवा राजनीतिमा रहन्छन् की रहदैनन् भन्ने कुरा पहिलो हो’ ति नेताले भन्नुभयो ।

‘समाजसेवा गर्ने उद्देश्य लिएर केही युवाहरु काँग्रेसको राजनीतिमा आउनुभएको छ यो ज्यादै राम्रो पक्ष हो । तर सँगसँगै केही त गुटले उचाल्दीएर नेतृत्वमा आएका छन् । यसले भोली पार्टीमा ठूलो समस्या पैदा गर्ने देखिन्छ’ ति नेताले भन्नुभयो । युवालाई राजनीति विचार र सिद्धान्तका वारेमा प्रशिक्षण गर्नुपर्ने आवश्यकता देखिन्छ । दलहरुले निर्वाचनका समयमा युवालाई प्रयोग मात्र गर्ने तर उत्पादनमुलक क्षेत्रमा नलगाउनुले युवा नेतृत्व भविष्यमा पलायन हुने खतरा देखिन्छ ।

रघुगंगा गाउँपालिकाको सभापतिमा युवा नेता मनकुमार शेरपुजा सहित पदाधिकारी र सदस्यहरुमा युवाको बर्चस्व कायम भएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहनुभएका शेरपुजा सर्वसम्मत रुपमा सभापतिमा चयन हुनुभएको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र वडा नम्बर ३ को वडा अध्यक्ष जिवनकुमार मल्ल सभापतिका लागि आकांक्षी हुनुहुन्थ्यो । तर शेरपुजाले अन्य दुईजनालाई सहमतिमा ल्याएर आफू नेतृत्वमा आउन सफल हुनुभएको छ ।

अधिवेशनबाट उपसभापतिमा निरज भण्डारी, केशब छन्त्याल,देउप्रसाद पुन, सचिबमा सीता कुमारी खड्का सुवेदी, मोहन तिलिजा, खिमबहादुर फगामी, सहसचिबमा भिमबहादुर कार्की, रिति थजाली र कोषाध्यक्षमा ओमकुमारी फगामी चयन हुनुभएको छ ।

नयाँ नेतृत्व चयनका लागि गाउँपालिका समितिका निवर्तमान सचिब रहनुभएका शेरपुञ्जा, सभापति रहनुभएका जीवनकुमार मल्ल र गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले दावी गर्नुभएको थियो । सर्वसम्मत नेतृत्व चयनको लागि मार्गप्रसस्त गर्दै मल्ल सभापतिको प्रतिस्पर्धाबाट पछि हटेपछि अन्तिममा शेरपुजा र भण्डारीबिच मतदान प्रकृयाबाट नेतृत्व चयन हुने अवस्था पुग्न लागेको थियो ।

अधिवेशनको उद्घाटन सभा लगत्तै उम्मेदवारी दर्ता प्रकृया अघि सभापतिका दावेदारको रुपमा रहनुभएका शेरपुजा र भण्डारी बिचमा निर्णायक वार्ता भएको थियो । सो क्रममा आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा पुनः भण्डारीलाई नै अघि सार्न शेरपुजा सहमत भएपछि सभापति पदमा भण्डारीले शेरपुजालाई सघाउनुभएको एक नेताले बताउनुभयो ।

पार्टीलाई अझ बलियो र शसक्त बनाउने अभियानको लागि समर्थन जनाएको भण्डारीले बताउनुभयो । पार्टीलाई गतिशिल, थप सक्रिय बनाउन आफु निरन्तर लागिरहने बताउँदै अग्रजका अनुभव र युवाहरुको संकल्पमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । भण्डारी र मल्लले सहमती, सहकार्य र एकताको सन्देश दिदै युवाहरुलाई नेतृत्वमा अवसरका लागि आफुहरुले सभापतिको आकांक्षा त्यागेर शेरपुजालाई सर्वसम्मत सभापतिमा समर्थन गरेको बताउँदै पालिकामा पार्टीलाई थप बलियो बनाउने अभियानमा लाग्न सुझाब दिनुभएको थियो ।

यसैगरी धबलागिरिको सभापतिमा प्रेमप्रसाद पुन निर्वाचित हुनुभएको छ । पुन पनि युवा हुनुहुन्छ । पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको छ । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र प्रेम बिक, सचिबमा नगेन्द्र मल्ल र देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धीमान शेरपुञ्जा, सहसचिबमा कमल खत्री र रोशन थापा निर्बाचित हुनुभएको छ । सभापतिमा निर्बाचित पुन धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ हिलापोखरीका हुनुहुन्छ ।

युवा नेता पुन यसअघि काँग्रेसको पालिका स्तरीय तदर्थ समितिको पनि अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ । कार्यसमितिको सदस्यहरुमा बलबहादुर छन्त्याल, थमबहादुर पर्टेल, दिलबहादुर पुन, भिमदेवी बुढा, रेवती भण्डारी, चुनदेबी बिक, हिममाया पुन, मनकुमारी जुग्जाली, सपना गर्बुजा, गौरी सुनार, रामदेवी पुन, पार्वति पुर्जा, नरकुमारी बुढाथोकी, सुमन छन्त्याल, चित्र चोचाङ्गी, शेरबहादुर पुन, बिष्णुकुमारी थापा, कुलबहादुर भण्डारी, टेकसिंङ थापा, रसु रसाइली, नच्चरी बिक, रामु हर्मेल, कबहादुर बिक, ऋषिराम सुबेदी, अर्जुन घर्ति, टेकबहादुर गुरुङ्ग लगायत रहुनभएको छ ।

मालिका गाउँपालिका सभापतिमा पनि युवा नेता सभापतिमा चयन हुनुभएको छ । पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । उपसभापतिमा बिरेन्द्र पुन र मिम पुन, सचिबमा बिरेन्द्र किसान, ताराबहादुर रोका, सहसचिबमा श्यामबहादुर बुढाथोकी र अमृत सापकोटा निर्बाचित हुनुभएको छ । सभापतिमा निर्बाचित पुन युवा नेता हुनुहुन्छ । उहाँसग युवा क्लब, विभिन्न आयोजनाका उपभोक्ता समिति र सामाजिक संघ संस्थाको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । मालिकाको अधिवेशनमा जिल्ला सभापति खम्बिर गर्बुजा उपस्थित हुनुभएको थियो ।

सदस्यहरुमा मनकुमारी बिक, यमुरा रोका, देबी नगरकोटी, अमृता शर्मा, इन्द्रमती फगामी, दुर्गा रोका, सुजता जुग्जाली, देबीप्रसाद आचार्य, ज्ञानबहादुर सिउथानी, दिलबहादुर नगरकोटी, थामबहादुर बिक, नरबहादुर पुन, चन्द्रबहादुर कामी, गर्भे गुरुङ्ग, सुमन बुढाथोकी, छमबहादुर फगामी, बुद्धीप्रसाद फगामी, नरमन रोकामगर, गंगा पुर्जा, सुरेन्द्र जुग्जाली, झलक गर्बुजा, सोमनाथथ आचार्य, लालमाया पाइजा, चन्द्रा घर्ति, यामुना रोका, मनरुपा पुन मगर फगामी, तुलबहादुर पुन, शेरबहादुर घर्ति, भलाराम जुग्जाली, चमबहादुर पुन, मोमबहादुर बुढा, लालकुमारी रसाइली, पार्वति कामी, यामबहादुर दर्जी, कुलमान पटेल, नेपसरा बिक, गंगाबहादुर बिक र गंगानारायण तुलाचन रहनुभएको छ ।

मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री निर्वाचित हुनुभएको छ । लामो समयदेखि काँग्रेसको राजनीतिमा क्रियाशिल खत्रीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । गाउँपालिकाको उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्य र विरेन्द बुढाथोकी, सह–सचिवमा नेत्रराज सुवेदी र विमल सुनार चयन भएको सचिव आचार्यले जानकारी दिनुभयो ।

बेनी नगरपालिकामा पनि सभापति सहित अधिकांश पदहरुमा युवाहरु निर्वाचित भएका छन् । सभापतिमा रवि कार्की,उपसभापतिमा हरिप्रसाद पौडेल,गंगाबहादुर खत्री र सचिवमा झलक जिसी युवा हुनुहुन्छ ।

यसैगरी अर्को सचिवमा ज्ञानेन्द्र श्रेष्ठ सहसचिवमा शान्ति शर्मा र स्यानीमाया कार्की निर्वाचित हुनुभएको छ । कार्की जिल्लामा सभापति गर्बुजा,अर्को उम्मेदवार विक्रम बोगटी पूर्व सभापति बानियाँ पक्षधर हुनुन्छ । दुवै समुहमा युवाको पंक्ती थियो । शनिबार भएको अधिवेशनमा सहमति नभएपछि मतदान गरेर नेतृत्व चयन गरिएको थियो ।

यसैगरी छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा पनि युवा पंक्ती नेतृत्वमा आएको छ । सभापतिमा इन्दुप्रकाश पौडेल निर्वाचित हुनुभएको छ । उपसभापतिमा शशि आचार्य र सावित्री खत्री,सचिवमा नविन जिसी र युवराज अर्मजा,सहसचिव पदमा रामकुमार पौडेल र डम्बर विक चयन हुनुभएको छ ।

उहाँहरु सवैजना युवा हुनुहुन्छ । कार्यसमितिका अन्य सदस्यहरुमा पनि युवाको नै बर्चस्व रहेको नवनिर्वाचित सचिव जिसीले बताउनुभयो । काँग्रेसलाई हाक्ने दायित्व अव युवाको काँधमा आएको बताउँदै जिसीले भन्नुभयो ‘अग्रजलाई सम्मान गर्दै सल्लाह र सुझाव लिएर पार्टी हाक्ने जिम्मेवारी युवाको काँधमा आएको छ।’ युवालाई लामो समय सम्म राजनीतिमा क्रियाशिल बनाइराख्न भने चुनौतीहरु छन् ।