२५ वर्ष पछि पर्वत बेनी बसपार्क ढलान गरिदै (फोटो/भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /म्याग्दी
असोज १२ गते ।

 

हाम्रो विकास कति सुस्त छ भन्ने एउटा उदाहरण बनेको छ पर्वत बेनी बसपार्क । २५ वर्ष पछि बल्ल बसपार्कलाई व्यवस्थित बनाउन ढलान गर्न लागिएको हो । हिउदमा धुलो र बर्खायमा हिलोले सास्ती भोगेका पर्वत बेनीका स्थानीयहरु वसपार्क ढलान गर्न लागेपछि भने खुसी भएका छन् ।

कालिगण्डकी नदीमा पुल नहुँदासम्म पर्वत बेनी करिब एकदशक भन्दा बढी व्यापारिक केन्द्र बन्यो । यहाँबाटनै पोखरा,काठमाण्डौं,चितवन लगायतका स्थानहरुका लागि सवारीसाधनहरु छुट्ने गर्दथे । बसपार्क निकै भिडभाड र सवारीसाधनहरुले खचाखच हुने गर्दथ्यो ।

पुरानो वसपार्कका रुपमा पहिचान बनाएको स्थानलाई व्यवस्थि बनाउन जलजला गाउँपालिकाले गत आर्थिक वर्षमा सिमेन्टले ढलान गर्न बहुवर्षीय ठेक्का लगाएको हो ।

पालिकाले चालु आर्थिक वर्षमा सक्ने गरी २२ लाख ५७ हजार रुपियाँमा मल्ल कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ । मल्ल कन्ट्रक्सनसँगको जेभीमा पुष्कल निर्माण सेवाले जिम्मा लिएर यतिखेर बसपार्क ढलान गर्ने काम गरिरहेको साइड इन्चार्ज सुवास जिसीले बताउनुभयो ।

‘कटिङ र सोलिङ सम्पन्न गरेर सिमेन्टेट ढलान गर्ने लागिएको छ । ४२ मिटर लम्बाई र १८ मिटर चौढाई रहेको बसपार्क क्षेत्रको सिमेन्टेट ढलान गर्ने काम असोज महिनाभित्र सक्ने गरि काम भइरेको छ ’ जिसीले भन्नुभयो ।

वर्षौसम्म तिन जिल्लालाई सेवा दिएको बसपार्क धेरै वर्ष पछि मात्र निर्माण हुँदा खुसी लागेको स्थानीयवासी ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । ‘हिउदमा धुलो र बर्खामा हिलोले वर्षौसम्म सास्ती भोग्नुपरेको थियो उहाँले भन्नुभयो ‘बसपार्क ढलान भएपछि हिलो र धुलोबाट मुक्त हुनुका साथै बजार सफा र सुन्दर देखिन्छ ।’

म्याग्दीको सदमुकाम बेनी सँगै जोडिएको यो बसपार्क कुनै समय अति नै व्यस्त थियो । २०५३ सालमा मालढुङ्गा – बेनी सडक निर्माण भएपछि यो ठाउँलाई एकदशकसम्म बसपार्कका रुपमा प्रयोग गरिएको स्थानीयवासी ठाकुरप्रसाद रेग्मीले बताउनुभयो । वर्षौसम्म तिन जिल्लालाई सेवा दिएको वसपार्क बनाउन लामो समयसम्म पनि कसैको ध्यान पुगेन उहाँले भन्नुभयो ‘ढिलै भएपनि स्थानीय तहमा जनप्रतिनिधि आएपछि बसपार्क बनाउन थालेकोमा खुसी लागेको छ ।’

म्याग्दी,मुस्ताङ र पर्वतको उत्तरी भेगका सर्वसाधरणहरुको सेवाका लागि लामो तथा छोटो दुरीका सवारीसाधनहरु यही बसपार्कबाट छुट्ने गर्दथे । बसपार्क सबारीसाधनहरुले खचाखच हुन्थ्यो ।

पछि म्याग्दीको सदरमुकाम बेनीलाई जोड्न कालिपुल स्थित कालिगण्डकी नदीमा पक्की पुल बनेसँगै बसपार्क कालिपुलमा सरेपछि यहाँ सवारीसाधनको चाप कम भएको स्थानीयवासी रेग्मीले बताउनुभयो ।