गाउँ तथा नगर अधिवेशन आज ः दुई समुह बनाएर चुनावी मैदानमा

विकल्प न्यूज/बेनी
असोज ९ गते ।

 नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज गाउँ तथा नगरको नेतृत्व चयनका लागि अधिवेशन हुँदै छ । काँग्रेसको अधिवेशनले यतिखेर राजनीतिक चहलपहल बढाएको छ । गाउँपालिका तथा नगरको आगमी नेतृत्वका वारेमा बहश र छलफलले चर्चा पाएको छ ।

म्याग्दीमा वर्तमान पार्टी सभापति खम्बिर गर्बुजा र पूर्व सभापति रेशम बानियाँ पक्षधर दुई समुह आ–आफ्नो प्यानल बनाएर अधिवेशनमा होमिएका छन् । बेनी नगरमा गर्बुजाको समुहबाट रविन्द्र कार्की र बानियाँको समुहबाट विक्रम बोगटी मैदानमा छन् ।

पार्टीको केन्द्रमा रहेको संस्थापन र संस्थापन इतर पक्षको गुट समूहकै प्रतिस्पर्धाको रुपमा जिल्लामा समेत प्रभाब देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्ष मानिने जिल्ला खमवीर गर्वुजा र बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका पूर्व जिल्ला सभापति बानियाँ पक्षबाट पालिका अधिवेशनमा नै छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीमा बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको अधिवेशनमा दुई पक्षले खुलेरै नेतृत्वको होडबाजीमा छन् ।

त्यसैगरि रघुगंगा गाउँपालिकाको नेतृत्वमा समेत दुई पक्षबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । औपचारिक रुपमा कसैले पनि उम्मेदवारी घोषणा नगरेपनि पार्टीको आन्तरिक रुपमा दुवै पक्षले आ–आफ्नो उम्मेदवार तयार गरेका छन् ।

गर्वुजा पक्षबाट वडा नम्बर ६ पाखापानीका वडा अध्यक्ष समेत रहनुभएका युवा नेता मनकुमार शेरपुञ्जा र बानियाँ पक्षबाट गाउँपालिका अध्यक्ष समेत रहनुभएका पाका नेता भबबहादुर भण्डारी सभापतिको होडमा हुनुहुन्छ ।

रघुगंगामा वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहनुभएका काँग्रेसको वर्तमान पालिका सभापति जीवनकुमार मल्ल समेत नेतृत्वको लागि आकाँक्षी देखिएको बताइएको छ । यद्यपी मल्लले आन्तरिक रुपमा शेरपुञ्जालाई समर्थन जनाउने स्रोतले बतायो ।

अन्नपूर्ण गाउँपालिकाको सभापतिमा समेत दुईपक्षबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । बानियाँ पक्षबाट वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहनुभएका कृष्णप्रसाद बरुवालले औपचारिक रुपमा सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ भने गर्वुजा पक्षको समर्थनमा वडा नम्बर ५ का कार्यबहाक वडा अध्यक्ष राजेश तिलिजालाई सभापतिको रुपमा अघि सार्ने चर्चा चलेको छ । तिलिजाले पालिका नेतृत्वको लागि आफुले तयारी थालिसकेको बताउनुभएको छ ।

यहाँ दुबै प्रतिस्पर्धीले आफुले नेतृत्व लिने दावि गरेका छन् । यता, मंगला, मालिका र धवलागिरि गाउँपालिकामा भने सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास अन्तिम चरणमा पुगेको बताइएको छ ।

जसमा मंगलामा नरसिंह केसी, मालिकामा खिम पुन र धवलागिरिमा प्रेम पुनलाई सर्वसम्मत सभापति चयन हुने काँग्रेसजनमा चर्चा चलेको छ । यद्यपी तीनै पालिकामा घोषित नभएपनि आन्तरिक रुपमा नेतृत्वको लागि अन्य व्यक्तिले समेत आकाक्षी देखिएको बुझिएको छ ।

नजिकिदै गरेको ७ औँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा हुन लागेको पालिका अविधेशनलाई मिनि जिल्ला अधिवेशनको रुपमा समेत हेरिएको छ । पालिकामा हुन लागेको प्रतिस्पर्धालाई जिल्ला सभापतिको होडमा रहनुभएका वर्तमान सभापति गर्वुजा र निवर्तमान जिल्ला सभापति बानियाँ बिचकै प्रतिस्पर्धाको रुपमा हेरिएको छ । पालिका लगतै हुने प्रदेश निर्वाचन समितिको अधिवेशनमा समेत बानियाँ र गर्वुजा पक्षकै प्यानल प्रतिस्पर्धामा जाने देखिएको छ ।

यता काँग्रेस समर्थक र शुभचिन्तकहरु भने सहमतिमै नयाँ नेतृत्व चयन हुनसके काँग्रेसलाई फाइदा पुग्ने बताउँछन् । मतदानबाट नेतृत्व चयन हुँदा पराजित पक्षमा लामो समयसम्म तुष रहने र त्यसले निकट भविष्यमा हुन लागेको निर्वाचनमा प्रत्यक्ष असर पार्ने उनीहरु बताउँछन् ।