ताजा समाचार:
Search

काँग्रेस बेनी नगरको सभापतिमा युवा नेता विक्रम बोगटीसहित प्यानल घोषणा (भिडियोसहित)

विकल्प न्यूज/बेनी
असोज ६ गते ।

 

नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको सभापति पदमा युवा नेता विक्रम बोगटीले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधवार उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गरेर बोगटीले आफ्नो समुहका पदाधिकारी सहित उम्मेदवार घोषणा गर्नुभएका हो ।

बोगटीको समुहका तर्फबाट उपसभापतिमा हरिप्रसाद पौडेल,मनकाजी घिमिरे, सचिव ज्ञनेन्द्रकुमार श्रेष्ठ,रणबहादुर शाही,सहसचिव शान्तिशर्मा पौडेल र शानिमाया कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

घोषणा कार्यक्रममा काँग्रेसका पूर्व सभापति एवम् संविधानसभा सदस्य रेशम बानियाँ,नगर सभापति अनोद श्रेष्ठ र हालै मात्र निर्वाचित भएका ९ वटै वडाका वडासभापतिहरु र क्षेत्रीय प्रतिनिधिहरुको सहभागिता थियो । बोगटीको समुहलाई बानियाँको समर्थन छ ।

नेपाल विद्यार्थी संघबाट राजनैतिक यात्रा सुरु गर्नुभएका बोगटी प्रखर वक्ता समेत हुनुहून्छ । बेनी नगरपालिका १ रत्नेचौर निवासी बोगटी २०६५ सालको म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू सभापतिको उम्मेदवार हुनुहुन्थ्यो । त्यसपछि बोगटी निरन्तर रुपमा काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । केही वर्ष सञ्चार क्षेत्रमा काम गर्नुभएका बोगटी युवा माँझ लोकप्रिय समेत हुनुहुन्छ ।

यसअघि वर्तमान सभापति खम्बिर गर्बुजाको समुहबाट रविन्द्र कार्कीले सभापतिमा उम्मेदवार घोषणा गरिसक्नुभएको छ ।  कार्यक्रममा पूर्व सभापति बानियाँले नेपाली काँग्रेसलाई बलियो र संस्थागत रुपबाट सञ्चालन गर्न युवाको नेतृत्व आवश्यक भएको बताउनुभयो ।

निष्ठा र इमानको राजनीतिलाई जोगाउन आफूले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको बोगटीले बताउनुभयो । काँग्रेस भित्र पछिल्लो समय विकृति र विसंगतिले प्रशय पाएको बताउँदै बोगटीले भन्नुभयो ‘काँग्रेसप्रति जनताको विश्वास गुम्न नदिन, पार्टीप्रति युवाको आकर्षण बढाउने गरी बलियो र संस्थागत रुपमाबाट पार्टी सञ्चालन गर्न आफूनो समुह नेतृत्वका लागि आघि सरेको हो ।’ वडा नम्बर ७ का सभापति रेशम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नगरसभापति अनोद श्रेष्ठले स्वागत गर्नुभएको थियो ।