म्याग्दीमा काँग्रेसको अधिवेशन ः नेतृत्वमा अघि बढ्दै युवा

विकल्प न्यूज\बेनी
भदौं २१ गते ।
नेपाली काँग्रेसमा युवाको आकर्षण देखिन थालेको छ । शुक्रबार ४४ वडामा सम्पन्न वडा अधिवेशनबाट निर्वाचित भएको संख्या हेर्दा काँग्रेसमा युवाको बर्चस्व दखिन थालेको हो । काँग्रेसमा युवालाई नेतृत्वका लागि ढोका खुल्ला छ भन्ने सन्देश अहिलेको वडा अधिवेशनले दिएको छ । ४५ वडा रहेको म्याग्दीमा १९ वटा वडाको सभापतिमा युवा निर्वाचित भएका छन् । पाको नेतृत्वले काँग्रेस हाक्न युवालाई अगाडि सारेको देखिन्छ । यद्धपी अझै जिल्ला नेतृत्वमा भने युवाका लागि ढोका खुला छैन ।

‘जिल्लाको नेतृत्वमा युवा आउन सक्ने वातावरण अझै तयार भएको छैन । तर पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिमा युवाहरु आकांक्षी देखिएका छन् । धेरै पदहरुमा युवा नै निर्वाचित हुन्छन्’ नेविसंघ सभापति निर्माल खत्रीले भन्नुभयो । म्याग्दीमा काँग्रेसलाई हाक्नलाई युवाहरु अगाडि बढेको उहाँले बताउनुभयो ।

काँग्रेसले पार्टीको नेतृत्वमा युवालाई ल्याउने खालको वातावरण तयार पार्दै गएकाले नेतृत्वमा आउने अवसर सिर्जना भएको उहाँको भनाई छ । शुक्रबार सम्पन्न वडा अधिबेशनबाट वडा सभापति,सदस्य र अधिवेशन प्रतिनिधिमा युवा निर्वाचित भएको हेर्दा अव काँग्रेसमा विस्तारै युवाको वर्चस्व हुने देखिएको खत्रीले बताउनुभयो ।

युवालाई नेतृत्वमा आउन नदिन पार्टी भित्रको सिण्डीकेटले अवरोध गरेको बेनी नगरपालिका ४ का वडा सभापति सुमन वानियाँ बताउँनुहुन्छ । अवरोधलाई छिचोल्दै नेतृत्वमा युवा आउनु काँग्रेसका लागि सकरात्मक भएको उहाँको भनाई छ । ‘काँग्रेसमा अझै सिण्डीकेट छ । राजनीतिप्रति युवा पुस्तालाई आकर्षीत गर्न पार्टीले युवा मैत्री नीति,विचार र सिद्धान्तलाई आत्मसाथ गर्नुपर्दछ’ बानियाँले भन्नुभयो ।

पछिल्ला केही वर्ष यता काँग्रेसप्रति युवाहरुको विश्वास जागेकाले नेतृत्व लिन अग्रसर भएको वडा अधिवेशनले पनि पुष्टि गरेको उहाँले बताउनुभयो । काँग्रेसलाई बलियो बनाउन युवा पुस्ता नेतृत्वमा आउनुपर्ने उहाँको भनाई छ । यसैगरी शुक्रबार भएको वडा अधिबेशनबाट ४४ वडामा नयाँ नेतृत्व चयन गरिएको छ । अधिकांश वडाको सभापतिमा नयाँ अनुहार आएका छन् । ६ वडा वाहेक ३८ वडाका सभापतिमा नयाँ अनुहार निर्वाचित भएको पार्टीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले दिएको जानकारी अनुसार मतदान प्रक्रियाबाट बेनी नगरपालिका–५ पुलाचौरमा यामबहादुर बानियाँ र अन्नपूर्ण गाउँपालिका–६ घारमा कृष्णप्रसाद बरुवाल वडा सभापतिमा निर्वाचित हुनुभएको छ ।

क्रियाशील सदस्यता नवीकरणको विवरण नआएकाले अन्नपूर्ण गाउँपालिका १ दोवाको अधिवेशन रोकिएको उहाँले बताउनुभयो । भदौ २३ गतेभित्र नै गर्न सदस्यता नवीकरणका लागि केन्द्रिय समितिमा पहल गरेको उहाँले बताउनुभयो ।
सात वडा रहेको धवलागिरि गाउँपालिकाको गुर्जामा केआइसिंह छन्त्याल, लुलाङमा ज्ञानबहादुर पाइजा, मुनामा जङ्गबहादुर भण्डारी, मुदीमा योगेन्द्र घर्ती, मल्कवाङमा अमर छन्त्याल, मराङमा योगेन्द्र गुरुङ र ताकममा थमबहादुर पुन वडा एकाइ सभापतिमा चयन हुनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यसैगरी प्रदेशसभा क्षेत्र (ख) म्याग्दीका उपसभापति मेक पुनका अनुसार मङ्गलाका पाँच वटा वडामा पनि सर्वसम्मत कार्यसमिति चयन भएको छ । कुहुँमा रामबहादुर खत्री, बाबियाचौरमा श्रीभद्र शर्मा, बरंजाको ३ मा टेकबहादुर छन्त्याल, ४ मा लालबहादुर रोका र अर्मनमा तुलसीराम कँडेल सभापतिमा चयन भएका छन् ।

मालिकाको निस्कोटमा भबहादुर पुन, रुममा चन्द्रबहादुर पुन, डाँडागाउँमा हरिप्रकाश पुन, ओखरबोटमा तमबहादुर पुन, देविस्थानमा भकबहादुर घर्ती, दरबाङमा गोपाल गौतम र बीममा टुकमान गर्बुजा वडा सभापति चयन भएका छन् ।
वडा नं ८ मा रहेको रघुगङ्गा गाउँपालिकाको बेगमा सूर्य गर्बुजा, भगवतिमा राजकुमार भण्डारी, पिप्लेमा अशोककुमार शाही, दग्नाममा कृष्ण गर्बुजा र चिमखोलामा प्रदीप पाइजा, पाखापानीमा भेष कुमार शेरपुञ्जा, वडा सभापति चयन भएका छन् । यसैगरी झिँमा गोविन्द पाईजा र कुइनेमंगलेमा गमन छन्त्याल सभापतिमा चयन भएका छन् ।
अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानीमा रेखिराम पुर्जा, दानामा सुरत केसी, नारच्याङमा समप्रसाद पुर्जा, शिखमा अर्जुन चोचाङ्गी, घारमा कृष्णप्रसाद बरुवाल,राम्चेमा गमबहादुर पुर्जा र हिस्तानमा खुमबहादुर पुर्जा वडा सभापतिमा चयन भएका छन् ।

बेनी नगरपालिकाको रत्नेचौरमा कोमल थापा, ज्यामरुककोटमा यामबहादुर कार्की, भकिम्लीमा जसबहादुर पुन, सिंगामा सुमन बानियाँ, अर्थुङ्गेमा जीवन पौडेल, बेनी– ७ मा रमेशकुमार श्रेष्ठ, ८ मा हिमबहादुर भण्डारी, घतानमा सुवर्ण खत्री र पात्लेखेतमा शिवबहादुर शाही सभापतिमा चयन भएका छन् । नवविकल्प साप्ताहिकबाट 

युवा सभापति
सूर्य गर्बुजा – बेग
राजकुमार भण्डारी – भगवती
अशोक कुमार शाही – पिप्ले
कृष्ण गर्बुजा – दग्नाम
भेषबहादुर शेरपुञ्जा – पाखापानी
प्रदिप पाइजा – चिमखोला
कमल थापा– रत्नेचौर
सुमन बानियाँ – सिंगा
जीवन पौडेल–अर्थुङ्गे (वेनपा ६)
रमेश कुमार श्रेष्ठ – बेनी ७
सुवर्ण खत्री – घतान
हरिप्रकास पुन – मालिका ३
भव घर्ती – मालिका ५
योगेन्द्र घर्ती – धौलागिरि ४ मुदी
सुरत केसी – अन्नपूर्ण ३
सुकमान गर्बुजा – मालिका ७ विम