ताजा समाचार:
Search

पुस्तकालय दिवसका अवसरमा हिरासतका बन्दीलाई पुस्तक हस्तान्तरण

विकल्प न्यूज/बेनी
भदौं १५ गते ।
 १४ औँ पुस्तकालय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा रहेको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले हिरासतमा रहेका बन्दीहरुलाई फुर्सदको समयलाई सकरात्मक अध्ययनमा सहयोग पुगोस भन्ने उदेश्यले ३० थान विभिन्न विद्याका पुस्तक हस्तान्तरण गरेको हो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावल र प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी मार्फत प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङलाई उक्त पुस्तकहरु हस्तान्रतण गरिएको थियो । उक्त अवसरमा मास्क र स्यानिटाईटर समेत उपलब्ध गराईएको छ ।

कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले पुस्तकालयको उपयोगले व्यक्ति, समाज र राष्ट्रलाई सकरात्मक बाटोमा अघि बढाउन रचनात्मक सहयोग पुग्ने बताउँदै प्रविधिमैत्री पुस्तकालय निर्माणमा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले प्रविधिको विकासले पुस्तकालयप्रतिको आक्रषण घट्दो रहेकाले पठन संस्कृतिको विकास गरेर पुस्तकालयप्रतिको आक्रषण बढाउनतर्फ ध्यान दिन आबश्यक रहेकोमा जोड दिनुभयो ।

वि.स. २०२७ सालमा स्थापना भएको म्याग्दीको एक मात्रै सामुदायिक पुस्तकालयमा अहिले करिब १० हजार विभिन्न विद्याका पुस्तकहरु रहेका छन् । पुस्तकालयमा बालमैत्री कक्ष समेत रहेको संस्थाका सहसचिब नवराज पौडेलले जानकारी दिनुभयो ।

पुस्तकालयमा अहिले दैनिक १५ जना र बालकक्षमा ३५ देखि ४० जना अध्ययनका लागि आउने गरेको जनाईएको छ । संस्थाका अध्यक्ष रावलको अध्यक्षता, साहित्य सचिब सुमन पौडेलको स्वागत र सहसचिब पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रकाश पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।