कालिपुलमा मल्लाजको भीरबाट पहिरो खस्यो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
भदौं १४ गते ।

  

बेनी नगरपालिका ८ को पुरानो कालिपुल बजार पारिपट्टी रहेको मल्लाजको भीरबाट पहिरो खस्न थालेको छ । पहिरोका कारण कालिगण्डकी नदी थुनिने खतरा सँगै कालिपुल बजार जोखिममा परेको हो ।

आइतबार (गएराती) पर्वतको जलजला गाउँपालिका ३ को मल्लाज भीरबाट पहिरो कालिगण्डकी नदीमा खस्दा पानीको छालले कालिपुलका १० घरमा सामान्य क्षति पु¥याएको छ भने ४ जना घाइते भएका वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । तिन जना बेनी अस्पतालमा उपचार पछि घर फर्किएको उहाँले बताउनुभयो ।

राती २.१५ बजे ठूलो आवाज सहित पहिरो कालिगण्डकीमा खसेको स्थानीयवासीहरु बताउँछन् । निद्रामा रहेका कालिपुलबासीहरु पहिरोको आवाजले ब्युझिएका थिए । रातीको समयमा कालिपुलवासीहरु भागभाग भएका थिए ।
पहिरो खस्ने क्रम नरोकिएको र ठूलो पहिरो खसेमा बजार नै जोखिममा हुने वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो ।

भिरालो भीर भएकाले जुनसुकै वेला पहिरो खस्ने जोखिम रहेको उहाँले बताउनुभयो । अहिले प्रहरी र स्थानीयवासीहरुको सहयोगमा जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा लैजान थालिएको छ ।