धबलागिरि गाउँपालिकालाई पूर्ण खोप प्राप्त पालिका बनाउने तयारी

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज
म्याग्दी भदौं ४ गते ।

 जिल्लाको विकट धबलागिरि गाउँपालिकालाई कोरोना विरुद्धको पूर्ण खोप प्राप्त पालिका बनाउने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले धबलागिरिलाई पूर्ण खोप प्राप्त पालिका बनाउने अभियान थालेको हो ।

स्वास्थ्य कार्यालय म्याग्दीले दिएका जानकारी अनुसार १८ वर्ष देखि माथिका करिब ९ हजार ६ सयलाई खोप लगाउनुपर्ने हुन्छ । अहिले सम्म करिब ७ हजार जनामा खोप लगाइसकिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

उहाँले दिएका जानकारी अनुसार १८ वर्ष भन्दा माथि ४ हजार ९८ जनामा जोनसन एण्ड जोनसनको खोप लगाइसकिएको छ । यस्तै ६५ वर्ष भन्दा माथिका करिब एकहजार जनामा कोभिशिल्डको दोस्रो मात्रा पनि खोप लगाइसकिएको छ । भदौं ९ र १० गते ५५ वर्ष भन्दा माथिका करिब नौसय जनालाई भोरोसिलको दोस्रो खोप लगाउने तयारी भएको उहाँले जानकारी दिनुभयो । खोप लगाउन वाँकी रहेकालाई पनि खोपको व्यवस्थापन गरि लगाउने योजना स्वास्थ्य कार्यालयकोे छ ।

जिल्लामा १८ वर्ष भन्दा माथिका खोप लगाउने उमेर समुहका करिब ७० हजार जना छन् । यि मध्य ३० हजारजनामा खोप लगाइसकिएको छ ।

भदौंको ९ र १० गते मंगला,मालिका र धौलागिरि गाउँपालिकामा भेरोसेलको दोस्रो खोप करिब ४ हजार जनालाई लगाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भदौंको दोस्रो हप्ता सम्म करिब ३० हजार जनाले नै कोरोना भाइरस संक्रमण विरुद्धको पुरा खोप लिइसक्नेछन् । जिल्लाका सवै वडामा रहेका स्वास्थ्य केन्द्रबाट खोप सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।