पर्वत बेनीमा ग्यारेज माथिबाट खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु

विकल्प न्यूज/बेनी
भदौं ३ गते ।

पर्वत बेनीमा रहेको एक ग्यारेज माथिबाट खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जलजला गाउँपालिका ३ वारी बेनीमा रहेको रारा अटो मोवाइल्समा गाडी मर्मतका लागि आएका ध १ ज ६६३२ नम्बरको बोलेरो जिप चालकको पहिरोमा पुरिएर ज्यान गएको वारी बेनी प्रहरी चौकीका सई भगत गौतमले जानकारी दिनुभयो ।


साँझ साढे पाँचबजेको समयमा गाडी मर्मतका लागि आएका जिपको धनी समेत रहनुभएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका अन्दाजी ३७ वर्षका टेकमान गर्बुजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि भाग्ने क्रममा अन्य दुई जना मजदुरपनि घाइते भएका छन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।


गाडी मर्मत गरिरहेको अवस्थामा एक्कासी ग्यारेज माथि रहेको ढिस्को सहितको पहिरो खसेर ग्यारेज पुरिएको थियो । पहिरोले ग्यारेजका साथै अर्को एक ट्याक्सीमा समेत क्षति पुगेको छ ।