ताजा समाचार:
Search

बंगुर फार्ममा रम्दैछन् बेनीका रणबहादुर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / म्याग्दी
भदौं ३ गते ।

 बेनीका रणबहादुर विश्वकर्माको दैनिकी बंगुर फार्मबाट सुरु हुन्छ । विहानै फार्ममा पुगेर बंगुरलाई दानापानी खुबाउने र खोर सफा आफै गर्नुहुन्छ । यस्तै दिनचार्यमा नै उहाँको ८ वर्ष वितिसकेको छ ।
‘विदेश पनि भोगियो दुःख पनि पाइयो तर आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै छ । परिवार मिलेर बंगुरपालन गरेका छौं सवै जना खुसी छौं,’ विश्वकर्माले भन्नुभयो ।

बंगुरपालनमा राम्रो संभावना देखेर वैदेशिक रोजगार त्यागेर बंगुरपालन व्यवसाय सुरु गरेको बेनी नगरपालिका ७ मंगलाघाटका युवा विश्वकर्माले बताउनुभयो ।

विदेशमा १२ वर्ष दुःख गरियो विश्वकर्माले भन्नुभयो ‘विदेशमा गर्ने श्रम स्वदेशमै गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ ।’ विश्वकर्माले विगत ८ वर्ष देखि व्यवसायिक रुपमा बंगुरपालन व्यवसाय गर्दै आउनुभएको छ । बंगुरपालन व्यवसायबाट मासिक एकलाख रुपियाँ सम्म आम्दानी गर्न सकिने उहाँले अनुभव सुनाउनुभयो ।

दुईलाख पचास हजारबाट सुरु गरेको बंगुरपालन व्यवसाय अहिले करिब पचासलाख सम्म लगानी पुगेको छ । खोर निर्माण गर्न भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द र बंगुरजोन कार्यक्रमले अनुदान उपलब्ध गराएपछि परम्पारगत खोरलाई आधुनिकिरण गरिएको उहाँले बताउनुभयो । भविष्यमा फर्मलाई विस्तार गरेर लगानी बढाउने योजना रहेको विश्वकर्माले बताउनुभयो ।

उहाँको फर्ममा माउ बंगुर १३,भाले बंगुर १, मासुका लागि तयारी अवस्थामा रहेका १२ र पाठापाठी २० वटा छन् । दानापानी राम्रो खुबाउन सकियो भने ८ देखि १२ महिनामा एकसय केजी सम्मको बंगुर हुने उहाँले बताउनुभयो ।

दानाको व्यवस्थापन गर्न सकेमा पैसा कमाउन बंगुरपालन व्यवसाय राम्रो हुने उहाँले अनुभव सुनाउनुभयो । बेनी बजारमा रहेका होटल र घरबाट बढी भएको खाना,तरकारी,दाल लगायतलाई संकलन गरेर दानका रुपमा प्रयोग गरिने उहाँले बताउनुभयो । यसका साथै घरमै पनि दाना बनाउने उहाँले बताउनुभयो ।

महिनामा १० वटा सम्म बंगुर बिक्री गर्ने उहाँको भनाई छ । बंगुरको मासु पसलमा प्रतिकेजी तिनसय पचास रुपियाँमा बिक्री हुने उहाँले बताउनुभयो । बंगुरको मासु बजारमा पु¥याउन सकिएको छैन । माग अनुसार उत्पादन गर्न नसकिएको विश्वकर्माले बताउनुभयो ।

१२ कक्षामा पढ्ने छोरा साजन विकले फुर्सदको समयमा बुवालाई सघाउनुहुन्छ । मैले विहान बेलुका खोर सरसफाई र दानाको व्यवस्थापन गर्दछु साजनले भन्नुभयो ‘बुवाले गरेको व्यवसायप्रति मलाई गर्व लाग्छ । काम गरेर सानो भइदैन । फर्ममा काम गर्दा खुसी मिल्छ ।’

जिल्लामा बंगुर जोन कार्यक्रम सुरु भएसँगै खोर निर्माण,मासुपसल सुधार र आवश्यक परामर्श दिन थालेपछि किसानहरु उत्साहित भएका छन् । आर्थिक वर्ष २०७६\०७७ देखि कार्यान्वयनमा आएको बंगुर जोन कार्यक्रमले बंगुरपाल्ने किसानहरुलाई खोर निर्माणमा अनुदान उपलब्ध गराउन थालेको छ ।

 

गत आर्थिक वर्षमा मात्र ३६ लाख ५६ हजार ८ सय रुपियाँ बंगुरपालक किसानहरुलाई खोर निर्माण,दाना बनाउने मिल र खोरबाट निस्किएको फोहारलाई व्यवस्थापन गर्न गोवर ग्यास प्लान्ट निर्माणमा अनुदान उपलब्ध गराएको बंगुर जोनका पशु प्राविधिक वलबहादुर वलीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाभर ३५ वटा बंगुरका फर्म सुचिकृत भएका छन् । कार्यक्रम लागू भएपछि किसानहरु उत्साहित भएको र बंगुरपालन व्यवसायप्रति युवाहरुको आकर्षण बढेको उहाँले बताउनुभयो । बजारको नजिक मंगलाघाट क्षेत्रमा मात्र ११ जना युवाले बंगुरपालन व्यवसाय गर्दै आएका छन् ।