रघुगंगाको केन्द्र मौवाफाँटमा मुक्तिनाथ सहकारीको सेवा केन्द्र सञ्चालन

विकल्प न्यूज/बेनी
साउन ३१ गते ।

रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले सेवा केन्द्र स्थापना गरेको छ । सदरमुकाम बेनीमा सञ्चालित सहकारीले ग्रामिण स्तरमा सेवा विस्तारका लागि आइतबार देखि मौवाफाँटमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

सहकारीको सेवालाई गाउँपालिका केन्द्र सम्म पु¥याउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको सहकारी अध्यक्ष लिलाराम गौतमले बताउनुभयो । आगमी दिनमा अन्य गाउँपालिकामा पनि सहकारीले सेवा विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

बेनीमा रहेको न्यु निलगिरी बचत तथा ऋण सहकारी र घतान बचत तथा ऋण सहकारी संस्था समेत मुक्तिनाथ सहकारीसंग एकिकृत भएर कारोवार सुरु गरेका छन् । सहकारीहरुबिच एकिकरण भएर एकिकृत कारोवार संगै सेवा विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर अघि बढेको सहकारीले जनाएको छ ।

मौवाफाँटमा सेवा केन्द्रको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले ग्रामीण शहर उन्मुख बनेको मौवाफाँटमा सहकारीको सेवा केन्द्र विस्तार हुँदा स्थानीय स्तरमा वित्तिय पहूँच बढ्ने बताउनुभयो । उहाँले राज्यको तीनखम्बे अर्थनीति अनुसार, सहकारीले स्थानीय स्तरमा पुँजीको संकलन र ऋणको लगानी संगै राष्ट्रिय स्तरमै पुँजीको विकास गर्न महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले उद्यमशिलता र उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राखेर रोजगार सिर्जना हुने क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । कुल १ हजार २५० जना शेयर सदस्य रहेको यस सहकारीमा ८ करोड ५ लाख शेयर पुँजी रहेको छ ।

गत आर्थिक बर्ष २०७७÷०७८ मा ४२ करोड ४५ लाख ६१ हजार बचत संकलन गरेको यस सहकारीले रु ४३ करोड २७ लाख ८४ हजार लगानी र ५३ करोड ५० लाख ५१ हजार कारोवार गरेको जनाएको छ । सहकारीका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक शेयर सदस्य दवी केसी, सल्लाहकार कोषानान्द आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो भने सहकारीका डण्डपानी सापकोटाको स्वागत र जयराम सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।