ताजा समाचार:
Search

प्रदेश सरकारबाट कटौती भएका योजना समाबेश गरिदिन गाउँपालिकाको अनुरोध

विकल्प न्यूज\बेनी
साउन १५ गते ।

 

गण्डकी प्रदेशमा नयाँ सरकार गठन भए सँगै म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित योजना तथा कार्यक्रममा बजेट कटौती गरिएको छ । दुई वर्ष देखि निरन्तर बजेट व्यवस्थापन भई सञ्चालनमा रहेका योजनाहरुलाई प्रदेश सरकारले यसपालीको बजेटमा कटौती गरेको हो ।

अघिल्लो सरकारले निरन्तरता दिएको सडक,शिक्षा,खानेपानी लगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । दुईवर्ष देखि निरन्तर रुपमा बजेट विनियोजन भएका ति योजनाहरु कटौती भएपछि गाउँपालिकाले प्रदेश सरकार समक्ष बजेट व्यवस्थापन गरिदिन अनुरोध गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लाई अध्यक्ष पुन सहितको टोलीले भेटेर बजेटलाई निरन्तरता दिन अनुरोध गर्नुभएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट बक्तव्यमा धौलागिरिमा सञ्चालन भएका योजनाहरु कटौती गरेकाले बजेट व्यवस्थापन गरि योजनालाई निरन्तरता दिन मुख्यमन्त्रीलाई ध्यानकर्षण गराइएको उहाँले बताउनुभयो ।सडक,शिक्षा र खोनेपानी जस्ता जनतालाई पत्यक्ष प्रभाव पार्ने योजनाहरु कटौती गरेर प्रदेश सरकारले विकटको धौलागिरि गाउँपालिकालाई उपेक्षा गरेको उहाँले बताउनुभयो ।

 

प्रदेश सरकारको सहयोगमा दुई गाउँपालिका जोड्ने महोत्वको सडक दरबाङ–बिम–मराङ–मल्कबाङ,कुइने हुँदै पाखापानी जोड्ने कृषि सडक (अघिल्लो वर्ष १ करोड २५ लाख विनियोजन),मुना लुलाङ,गुर्जा सडक(अघिल्लो वर्ष एककरोड २५ लाख विनियोजन) र हेम मावि सिवाङलाई सामाजिक विकास मन्त्रालयबाट नमुना आवासिय विद्यालय सञ्चालनका लागि गत वर्ष दुई करोड रुपैयाँ विनियोजन भएको थियो ।

यसैगरी वडा नम्बर ४ मुदीको वृहत खानेपानी योजना पनि कटौती गरिएको छ । मुदीवासीका प्रत्येक घरमा खानेपानी उपलब्ध गराउन करिब एकरोड २५ लाख बराबरको बजेट अनुमान गरि कार्यक्रम सञ्चालन हुँदै आएको थियो । प्रदेश सरकारले यसपालीको बजेट बक्तव्यमा उक्त योजनाहरु समावेश नगरेपछि योजनाहरु अलपत्र पर्ने उहाँले बताउनुभयो । राजनीतिक प्रभावका कारण बजेट कटौती गरिएको हुनसक्ने स्थानीयवासीहरु बताउँछन् ।