ताजा समाचार:
Search

पत्रकार महासंघको संस्थागत विकासका लागि स्थानीय तहको साथ

विकल्प न्यूज/बेनी
असार २५ गते ।


नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई म्याग्दीका स्थानीय तहहरुले सामग्री सहयोग गरेका छन् ।

पत्रकार भेटघाट, सम्मेलन, अन्तरक्रीया लगायतका कार्यक्रम सञ्चालनका लागि मिडिया सेन्टर स्थापना गर्न महासंघले म्याग्दीका सबै स्थानीय तहहरुलाई प्रस्ताव गरेको थियो । म्याग्दीका छ वटा स्थानीय तहहरुले रु. तीन लाख ६० हजार मूल्य बराबरका सामग्री खरिद गरेर उपलब्ध गराएका छन् ।

नागरिकले आफ्ना गुनासा, समस्या मिडिया सेन्टरको सहजिकरणमा पत्रकार र सञ्चारमाध्यमबाट सार्वजनिक गर्न, सरोकारवालाहरुलाई पत्रकार तथा सञ्चारकर्मीसँग समन्वय गर्न महासंघको बेनी बालमन्दिरचोकमा रहेको कार्यालयमा प्रबिधियुक्त मिडिया सेन्टर सञ्चालन गर्न लागिएको शाखा अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । जहाँबाट आपतकालिन अवस्थामा सञ्चारकर्मी तथा पत्रकारहरुलाई समाचार सम्प्रेषण गर्न सहयोग पुग्नेछ ।

बेनी नगरपालिकाले खरिद गरेका रु. एक लाख मूल्य बराबरका सामग्री शुक्रबार नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदी र वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले शाखा सचिब सन्तोष गौतम र कार्यसमिति सदस्य जेनिसा पुरीलाई हस्तान्तरण गर्नुभएको थियो ।

महासंघको भवन निर्माणका लागि चार आना जग्गा भाडामा दिएको नगरपालिकाले मिडिया सेन्टर स्थापना गर्न एक थान इन्भटर, एक थान ब्याट्री, इन्टरनेट र टेलिफोन जडानका साथै फर्निचर सम्बन्धी सामग्री उपलब्ध गराएको हो ।

रघुगंगा गाउँपालिकाले रु. असी हजार मूल्य बराबरको एक सेट ब्रान्डेड कम्प्युटर, मंगला गाउँपालिकाले रु. साठी हजार बराबरको सोफा सेट लगायत फर्निचर, अन्नपूर्ण गाउँपालिकाले रु. पचास हजार बराबरको एक वटा प्रिन्टर र एक वटा कुर्ची, धवलागिरी गाउँपालिकाले रु. चालिस हजार बराबरको एक थान कुर्चि र एक थान टेबल, मालिका गाउँपालिकाले रु. तीस हजार बराबरको एक थान दराज उपलब्ध गराएको छ ।

शखा अध्यक्ष पौडेलले सहयोगीहरुप्रति धन्यवाद ब्यक्त गर्नुभयो । कोरोनाको जोखिममा समाचार संकलनमा खटिएका पत्रकारहरुका लागि मास्क, स्यानीटाइजर लगायत स्वास्थ्य सुरक्षाका सामग्री बितरण गरेको शाखाले गत महिना प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले आपतकालिन कोष स्थापना गरेको थियो ।

शाखाका पदाधीकारी, सदस्य र सल्लाहकारहरुबाट कोषमा एक लाख रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको आपतकालिन कोषको रकम बढाउदै लैजाने र ब्याजबाट आवश्यकताका आधारमा कार्यबिधी अनुसार पत्रकारहरुलाई सहयोग गर्ने कोषाध्यक्ष अमित बिश्वकर्माले बताउनुभयो । शाखाले नगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माणका लागि स्रोत जुटाउन र प्राबिधिक काम अघि बढाएको उपाध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो ।