बाढीपहिरोका कारण दुःख र पीडाले भरिएको धाइरिङको किराखोर बस्ती(भिडियोसहित)

ठाकुरप्रसाद आचार्य\जलजला किराखोर
असार ६ गते ।

 ‘‘राती ठूलो वर्ष भइरहेको थियो । बाहिर निस्केर हेर्दा पिँडी र घर चर्किसकेको रहेछ । रातको दुई बजेको थियो बच्चा च्यापेर भागेर स्कुलमा पुगें । बारी सबै बगेको छ । म मजदुर हो अव कसरी परिवार पालौं ।’’ साना साना बालबच्चा छन् कहाँ राख्ने के खाने ?

यी माथिका भनाई पर्वतको उत्तरी जलजला गाउँपालिका ७ धाइरिङ किराखोरका पहिरोपीडित टिके दमाईका हुन । दिनभर काम गरेर परिवार पाल्दै आउनुभएका टिकेको सानो घर भत्किन थालेको छ । ज्याला मजदुरी गरेर बनाएको बास पहिरोले बगाउन थालेपछि मनमा ठूलो पिर र चिन्ता छ । आँखामा आशु थामिएका छैन ।

निरन्तरको अविरल वर्षाका कारण असार ३ गते राती वस्ती नै पहिरोको चपेटामा प¥यो । ३१ घर परिवार विस्थापित भएका छन् । भारी वर्षाका कारण भिरालो जमिन भएकाले वस्ती बग्न थालेको छ । स्थानीय युवाहरुले जोखिममा रहेका घरपरिवारलाई उद्धार गरेर स्कुल र आफन्तकोमा राखेका छन् ।

घर अगाडि ठूलो पहिरो गएको छ । आँगन सहित पिँडी बगेको छ । घर भत्किन आँटेको छ । यो दृश्य अर्को पहिरो पीडित हिरा दर्जीको घरको हो । ढुङ्गाले चिटिक्क पारेर छाएको दुइतले लामो घर छ हिरा को । १२ जनाको परिवार अट्न सक्ने घर छ । अहिले घर कोल्टे परेको छ । कतिबेला भत्किने हो ठेगान छैन । शनिबार पुग्दा हिरा भत्किन आँटेको घर छेवैमा बसेर टुलुटुली हेरिरहनुभएको थियो ।

‘‘ठूलो पानी परेको थियो । म पीडीमा सुतेका थिएँ । घर आसपासका खोल्साहरुमा बाढी बगेको आवाज आइरहेको थियो। एक्कासी आगन पहिरोसँगै बग्यो म झसँग भएँ । त्यसपछि पिँडी पनि चर्कियो । राती नै सवै जना भागेर स्कुलमा पुग्यौं’’ – हिरा दर्जीले भन्नुभयो ।

‘‘खेत र बारी बगेको छ । घर बनाउने जग्गा पनि छैन । १२ जनाको परिवार छ । सवै जना यतिखेर विद्यालयमा बास बसेका छौं । यहीँ घर बनाएर बस्ने अवस्था छैन । हामीलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाइदिनुप¥यो’’ उहाँले भन्नुभयो ।

हिराको मात्र होइन अन्य पहिरोपीडतका दुःख र व्यथा पनि उस्तै छन् । स्थानीय अमर आधारभूत विद्यालयको एउटा सानो कोठामा बस्नुभएकी पहिरो पीडित सावित्री नेपालीले भन्नुभयो ‘त्यही ठाउँमा बस्ने अवस्था छैन । वरीपरीबाट पहिरो आएको छ । हामीलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिदिनुप¥यो ।’ साना साना बच्चाहरु छन् । चिसोले वच्चा विरामी पर्न थालेका छन् । सावित्रीले भन्नुभयो ‘‘खाने भन्दा पनि बस्ने बासको आवश्यकता छ । खान त ज्याला मजदुरी गरेर खाइएला नी ।’’

‘‘घर बनाएको ऋण अझै तिरिसको छैन । घर बस्न नमिल्ने गरी भत्किन थालेको छ । अव कहाँ बस्ने । नसोचेको दुःख आइलाग्यो ।’’ आँखाभरी आसु झार्दै शान्ति दर्जीले भन्नुभयो ‘घर बनाएको ऋण अझै तिरिसकेको छैन । घर बस्न नमिल्ने भएको छ । अहिले आफन्तकोमा बसेका छौं ।’’

वडा अध्यक्षले दिएको एउटा घरमा बसेका छौं पहिरोपीडित अमिर परियारले भन्नुभयो ‘‘चारै तिर पहिरोले घर घेरेको छ । यहाँ बस्न जोखिम भएर हामी सात जना वडा अध्यक्षको घरमा गएर बसेका छौं ।’’

विस्थापितहरुलाई अहिले सुरक्षित तवरले राखिएको छ । पहिरो पीडितलाई स्थानीय विद्यालय र आफन्तकोमा राखिएको वडा अध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो । स्थानीय युवाहरु परिचालन गरेर पीडितहरुलाई तत्काल उद्धार गरिएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट प्रमुख जिल्ला अधिकारी सहितको टोलीले पूर्ण क्षति भएका घरपरिवारलाई जनही १० हजार र आंशिक क्षतिलाई ५ हजारका दरले नगद रकम,लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।

तत्कालका लागि पीडितहरुलाई राहत र बसोबासको व्यवस्था गरिएको भएपनि बर्षा बल्ल सुरु भएकाले अव ति परिवारलाई व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती थपिएको उहाँले बताउनुभयो ।

विस्थापित परिवारलाई कसरी व्यवस्थापन गर्ने भन्ने ठोस योजना गाउँपालिकाले आगमी दिनमा बनाउने उहाँले बताउनुभयो । गाउँपालिकाले दिर्घकालिन र अल्पकालिन योजना बनाएर वस्तीलाई सुरक्षित स्थानमा बसाल्नुपर्ने वडा अध्यक्ष आचार्यले बताउनुभयो । उहाँका अनुसार ११ घर पूर्ण क्षति र २० घरमा आंशिक रुपमा क्षति पुगेको छ । यो वर्षातको समयमा त्यही स्थानमा वस्न मिल्ने अवस्था नभएकाले सवै सँग छलफल र सहयोग लिएर बसोबासको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

यसै गरी आइतबार विघटित प्रतिनिधिसभाका सांसद पदम गिरि सहितको टोली किरोखोर पुगेको छ । टोलीले पीडितहरुलाई राहत वितरण गरेको छ । पीडितका लागि आवश्यक मात्रामा राहत र सुरक्षित बसोबासको व्यवस्थाका लागि पहल गर्ने सांसद गिरिले बताउनुभयो ।