ताजा समाचार:
Search

धवलागिरीको ताकममा भिडियो एक्सरे सहित ल्याब सेवा सुरु

विकल्प न्यूज\बेनी
जेठ २५ गते ।

म्याग्दीको विकट धौलागिरी गाउँपालिकाले ताकममा भिडियो एक्सरे सेवा सहित ल्याब सेवा सुरु गरेको छ । वडा नम्बर ताकममा रहेको अस्पतालमा भिडियो एक्सरे र ल्याब सेवा उपलब्ध गराएको हो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण व्यवस्थापन गरेर भिडियो एक्सरे सेवा सुरु गरिएको हो ।

भिडिओ एक्सरे सेवा सुरु भएपछि गर्भमा रहेको बच्चाको अवस्था पत्ता लगाउन ,पित्तथैली ,मृगौला ,मुत्रथैलीको पत्थरी ,कलेजोको रोग पत्ता लगाउन सहज हुने अस्पतालका डा.एराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार ,ल्याबमा रुटिन ब्लड टेष्ट लगायत सेवा दिइएको छ । भिडियो एक्सरे र ल्याब संचालन भएपछि ग्रामिण भेगका गर्भवती महिला, बृद्धबृद्धा लगायत विरामी लाभान्वित हुने भएका छन् । रोगको पहिचान गर्न सहज हुने ,विरामीले सहज र सर्वसुलभ रुपमा सेवा पाउन थालेका छन् ।

भिडियो एक्सरे र ल्याब सेवा सुचारु भएपछि विकट बस्तीका महिला ,बृद्धबृद्धा लगायत विरामीलाई थप सहज हुने गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो ।

यसअघि धवलागिरीबासी भिडियो एक्सरे र ल्याब सेवाका लागि दरबाङ ,बेनी ,पोखरा लगायत बाहिरी अस्पताल पुग्ने बाध्यता थियो । सेवा सुचारु पछि ग्रामिण बस्तीका नागरिकलाई आर्थिक खर्चको भार कम हुने र समयमै गर्भमा बच्चाको अवस्था थाहा नपाउँदा आमा र बच्चालाई हुने जोखिम कम गर्न समेत सहयोग पुग्नेमा अध्यक्ष पुनको विश्वास छ ।