९६ बर्षीय दग्नामकी बृद्धाले कोरोना जितेपछि खुसी हुँदै घर

विकल्प न्यूज\बेनी
जेठ १६ गते ।


म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी ९६ बषीय बृद्धाले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । दग्नामको कान्छी गाउँ घर हुनुभएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरि कोरोनाबाट निको हुनुभएको हो । ७ दिन अघि कोरोना संक्रमणको कारण स्वासप्रश्वास, ज्वरो लगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना संक्रमण मुक्त भएपछि उहाँलाई घर पठाईएको रघुगंगा गाउँपालिकाको कोभिड–१९ अस्पतालका डाक्टर सन्तोष प्रसाद बोहराले जानकारी दिनुभयो ।
‘‘
उहाँलाई अक्सिजन लगाएरै स्वास्थ्यकर्मी सहितको टिमले अस्पतालमा ल्याउनुभएको थियो, अस्पतालमा ल्याउँदा उहाँमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक सातासम्म हामीले सम्भव भएसम्मको विधिबाट उपचार ग¥र्यौ, अहिले अक्सिजन लेवल पनि ठिक छ, कोरोना परिक्षण गर्दा नेगेटिभ देखिएको छ, त्यसपछि उहाँलाई घर फिर्ता गरेका छौँ’’– डाक्टर बोहराले भन्नुभयो ।

अस्पतालसम्म ल्याइपु¥याउँदा मानिस चिन्न समेत छाडिसक्नुभएकी बृद्धा आमाले कोरोना संक्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अबस्थामा फर्कनुभएको पुनका छोरा खिमबहादुर पुनले बताउनुभयो। ‘‘अस्पतालको उपचारबाट हामी खुसी छौँ, सुरुमा आमाले मलाई समेत चिन्नुहुँदैन थियो, उपचार गर्दै जाँदा चिन्न थाल्ने हुनुभयो, डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर चेकजाँच र हेरचाह गरेकोमा हामी हर्षित भएका छौँ’’– पुनले भन्नुभयो ।

कोरोना जितेर निको भएपछि बृद्धा पुनलाई गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले फुल र रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदीक विज्ञहरुबाट सिफारिस भएका औषधीहरु उपलब्ध गराएर विदाई गर्नुभएको थियो ।

उक्त अवसरमा पुनले अस्पतालको सेवा र उपचारको क्रममा निःशुल्क खाना खाजाको सुविधाबाट प्रभावित भएर उक्त सेवाकै लागि रु ७ हजार नगद समेत सहयोग हस्तान्तरण गर्नुभएको थियो । यसैबिच कोरोना संक्रमणको कारण पोखरा सम्म पुगेर उपचार गर्दा समेत निको नभएपछि रघुगंगाकै कोभिड अस्पतालमा फर्किएर उपचार गराउनुभएका पिप्ले निवासी ५३ बर्षीय रत्नबहादुर शाहीले समेत कोरोना जितेर घर फर्कनुभएको छ ।

उहाँको स्वास्थ्यमा थप अन्य समस्या देखिएपछि थप चेकजाँचका लागि बेनी हुँदै पोखराको गण्डकी मेडिकल कलेजमा रेफर गरिएको थियो । गण्डकीमा आईसीयु कक्षमा समेत राम्रो उपचार नभएपछि उहाँका आफन्तले शाहीलाई गाउँकै कोभिड अस्पतालको आईशोलेसनमा राखेर उपचार गराउने गरि फर्काउनुभएको थियो ।

कोभिड अस्पतालमै उपचार गरि निको भएपछि शाही समेत आइतवार डिसचार्ज भएर घर फर्कनुभएको छ । ‘‘ ठुला अस्पतालमा समेत राम्रो उपचार पाइने देखिन, बरु यहिँकै अस्पतालमा उपचार गराउने निधो गरेर फर्किएको थिए, यहाँ आएपछि उपचार गर्दै जाँदा मेरो स्वास्थ्यमा क्रमिक सुधार आयो, आज निको भएर घर फर्कदै छु, यहाँका डाक्टर र स्वास्थ्यकर्मीको यो गुन म कहिल्यै भुल्ने छैन्’’– शाहीले भन्नुभयो ।

रघुगंगाको कोभिड अस्पतालमा विरामी र कुरुवाहरुलाई निःशुल्क खानाको समेत व्यवस्था गरिएको छ । स्थानीय नवसन्तोष सेवा युवा क्लब, सिवाईजी क्लब र रेडक्रस पिप्ले उपशाखाको अगुवाईमा स्थानीय युवाहरुले स्वयमसेवक रुपमा परिचालन भएर सहयोगदाता मार्फत सहयोग जुटाएर विहानदेखि बेलुकिसम्म नै भर्ना भएका विरामी र उनिहरुका कुरुवाहरुलाई निःशुल्क खाना, खाजा खुवाउँदै आएको पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्लले जानकारी दिनुभयो ।

 

यसैबिच कोरोना जितेर घर फर्कनुभएका शाहीले निःशुल्क खानाको व्यवस्थापनका लागि रु २१ ह्जार ५ सय ५ र अस्पतालका स्वास्थ्यकर्मीहरुको प्रोत्साहनका लागि समेत रु २१ ह्जार ५ सय ५ नगद सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रघुगंगाको कोभिड अस्पतालमा अहिलेसम्म ५६ जनाको उपचार गरीसकिएको छ । वैशाख २१ गतेबाट रघुगंगाले कोभिड अस्पतालबाट सेवा सुचारु गरेको थियो ।

अस्पतालमा आएका अधिकाँश अक्सिजन लगाएर उपचार गराउनुपर्ने विरामीहरु निको भएर घर फिर्ता हुनुभएको छ । गाउँपालिकाले दुई वटा सवारी साधन मार्फत विरामीहरुलाई अस्पताल सम्म ल्याउने र निको भएपछि घरमा पु¥याउने काम समेत गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।