अन्नपूर्णको कोभिड अस्पताललाई घोडेपानीकी होटल व्यवसायी पुनको सहयोग

विकल्प न्यूज\बेनी
बेनी, १३ जेठ ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गरेको कोरोना अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी मिना पुनले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । घोडेपानीको सुपर भ्यू होटलकी सञ्चालक पुनले कोरोना अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने पचास हजार रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गर्नुभएको हो ।

पल्स अक्सिमिटर, स्यानीटाइजर, मास्क, भिटामिन सि, डि जिंक, डिकोल्ड, लिभोसिट्रिजिन लगायतका सामग्री सहयोग गर्नुभएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र अस्पताल समितिका संयोजक ओमप्रकाश फगामीलाई पुनले सामग्री हस्तान्तरण गर्नुभएको थियो । यसैगरी अस्पतालमा निशूल्क रुपमा सेवा गर्न आउनुभएका चिकित्सक श्रेयश पराजुलीलाई स्वागत गरिएको थियो । नारच्याङमा २५ शैया क्षमताको आइसोलेशन सञ्चालन भएको छ ।

यसैगरी मातृभूमी सेवा समाजले अन्नपूर्ण गाउँपालिका–६ घारको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । १० थान अक्सिमिटर, १० थान पिपिई, ५ थान थर्मोमिटर, एक हजार मेडिकल मास्क र दुई सय वटा सर्जिकल गोल्ब सहयोग गरेको हो ।