रघुगंगामा कोरोना संक्रमित विरामी र कुरुवालाई निशुल्क खानाको व्यवस्था

विकल्प न्यूज/बेनी
जेठ ४ गते । 

रघुगंगाको कोभिड अस्पतालमा उपचाररत विरामीहरु र उनका कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरेपछि संक्रमितका घरपरिवारलाई सहज भएको छ । वडा कार्यालय, स्थानीय युवा क्लब, आमा समूह र सामाजिक संघ संस्थाको समन्वयमा निःशुल्क भोजनालय सञ्चालन गरिएको छ ।

विभिन्न क्षेत्रबाट सहयोग जुटाएर स्वयमसेवकहरु परिचालन गरी विहानदेखि बेलुकी सम्म नै विरामीको लागि खाना संगै तातोपानी, बेसारपानी, सुप लगायतका विरामीलाई आबश्यक पर्ने खानेकुराहरुको निःशुल्क उपलब्धता गराउन थालिएको वडा अध्यक्ष जिवनकुमार मल्लले जानकारी दिनुभयो ।

‘‘ अस्पतालमा विरामीहरुको संख्या बढ्दै गएको छ, उपचारको लागि विरामी ल्याएर आएका आफन्तलाई विरामीको लागि खानाको बन्दोबस्त मिलाउन कठिन हुन थालेपछि निःशुल्क भोजनालयको अवधारणा अनूसार सेवा सुरु गरेका छौँ’’–अध्यक्ष मल्लले भन्नुभयो ।

अभियानमा विभिन्न सहयोगदाताहरुले आर्थिक सहयाग समेत गर्न सुरु गरेका छन् । वडा कार्यालय संगै, स्थानीय नव सन्तोष सेवा युवा क्लब , नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखा, सिवाईजी क्लब लगायत स्थानीय आमा समूहहरुको सक्रियतामा निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको जनाईएको छ ।

रघुगंगा गाउँपालिकाको कोरोना अस्पतालमा बसेका कोरोना संक्रमित विरामीहरुलाई वडा अध्यक्ष जिवन बहादुर मल्लको अगुवाईमा निशुल्क खाना दिइएको छ । स्थानीय युवाक्लब,स्थानीयवासी र अन्य सहयोगदाताहरुले अभियानमा सहयोग गरेका छन् ।