बेनी अस्पतालमा संक्रमितको चाप बढ्यो ः अक्सिजन र बेडको अभाव हुन थाल्यो

विकल्प न्यूज/बेनी
जेठ २ गते ।

  सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमित विरामीको चाप बढ्न थालेको छ । स्वासप्रस्वासमा समस्या भएर अस्पताल आउनेको संख्या सोमबार बढेको छ । नियमित १८ देखि २० जना सम्म संक्रमितको उपचार गरिरहेको अस्पतालमा सोमबार भने ३२ जना विरामी उपचाररत छन् ।

सोमबार ग्रामिण भेगबाट धेरैको संख्यामा विरामीहरु अस्पतालमा आएका कारण अक्सिजन र बेडको अभाव हुनथालेको छ । अक्सिजन सहितको बेड अभाव भएपछि एम्बुलेन्समै राखेर उपचार गरिएको थियो ।

अक्सिजनको अभाव हु्न नदिन अस्पतालले पूर्व तयारी गरेपनि विरामीको चाप एक्कासी बढेका कारण केही घण्टा व्वस्थापन गर्न समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

आइतबार सञ्चालन गरिएको २० बेड क्षमताको आइसोलेसन कक्षमा अक्सिजनको व्यवस्थापन गर्न केही समय लाग्ने भएकाले समस्या भएको उहाँले बताउनुभयो ।

बेलुका सम्म अक्सिजनको व्यवस्थापन हुन्छ उहाँले भन्नुभयो ‘थप अक्सिजन शिलिण्डर लिन पोखरा पनि पठाएका छौं । साँझ सम्म अक्सिजन आइपुग्छ ।’ विरामीको चाप यसरी नै बढ्ने हो भने थप बेड र अक्सिजनको आवश्यकता पर्नसक्ने उहाँले बताउनुभयो ।