राहुघाट बेसिनमा १ सय २५ मेगावाटको आयोजना निर्माणाधीन

विकल्प न्युज म्याग्दी
चैत १३ गते
म्याग्दीको राहुघाट नदी बेसिनमा ३ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा निजी क्षेत्रले प्रवर्द्धन गरेका १ सय २५ मेगावाटका आयोजना निर्माण भइरहेका हुन् ।

यो बेसिनमा अहिले प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर कम्पनीमार्फत ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना निर्माणाधीन छ । यो आयोजनाको करिब २५ प्रतिशत निर्माण पूरा भइसकेको छ ।

यो आयोजनाको ६ किलोमिटर लामो मुख्य सुरुङमध्ये ८ सय मिटर खनेर सकिएको छ । विद्युतगृहमा भर्खरै जग खन्न सुरु गरिएको आयोजना प्रमुख गणेश केसीले बताए ।

आयोजनाबाट २०७८ मंसिरदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि कोरोना ९कोभिड–१९० महामारी नियन्त्रण गर्न गरिएको लकडाउन तथा निशेधाज्ञाका कारण निर्माण प्रभावित हुँदा धकेलिने देखिएको छ । अहिलेसम्मको भौतिक प्रगति हेर्दा निर्माण अवधि अझै डेढ वर्षभन्दा बढी समय लाग्ने केसीले जानकारी दिए ।

यो आयोजना सम्पन्न गर्न ९ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२० केभी बनखेत सबस्टेसनमार्फत कालीगण्डकी कोरिडोर प्रसारण लाइनमा जोडिनेछ ।

यस्तै, ३७ मेगावाटको राहुघाट मंगले र ४८।५ मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना पनि निर्माणाधीन छन् । टुन्डी पावर कम्पनीमार्फत एउटै समूहले यी आयोजना अघि बढाएको हो ।

राहुघाट मंगलेको निर्माण गत मंसिरदेखि सुरु भएको हो । अहिले आयोजनाको बाँध, सुरुङ र विद्युतगृहमा एकसाथ काम भइरहेको छ । आयोजनाको बाँध र विद्युतगृहको काम रामेछाप शेर्पा कन्स्ट्रक्सन कम्पनीले तथा सुरुङको काम साउथ एसियन इन्फ्रास्ट्रक्चर कम्पनीले गरिरहेको छ ।

आयोजनामा ५ किलोमिटर लामो मुख्य सुरुङ निर्माण हुनेछ । सुरुङ ४ स्थानबाट खन्न सुरु भएको छ ।निर्माण सुरु भएको ३६ महिनाभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजना सम्पन्न गर्न ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा कुमारी बैंकको अगुवाईमा ऋण लगानी जुटेको छ । बैंकले कूल लागतको ७० प्रतिशत ऋण लगानी गर्ने गरी सम्झौता भएको छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । कम्पनीले आयोजना अघि बढाउन २०७३ कात्तिक २९ गते उत्पादन अनुमति पाएको थियो ।

आयोजना सम्पन्न भइपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको राहुघाट जलविद्युत आयोजनाको स्वीचयार्डमा लगेर जोडिनेछ । स्वीयार्डसम्म आवश्यक १८ किलोमिटर प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गर्नेछ ।

कम्पनीले अघि बढाएको माथिल्लो राहुघाट पनि भर्खरै सुरु भएको छ । अहिले आयोजनाको पहुँच सडक र आवासगृह निर्माण भइरहेको छ । पहुँच सडक तथा आवास क्षेत्र निर्माणपछि आयोजनाको संरचना निर्माण गर्न सुरु गरिनेछ ।

माथिल्लो राहुघाट राघुघाट मंगलेको क्यासकेड आयोजना हो । कम्पनीले २०७५ चैत्र ११ गते विद्युत विकास विभागबाट यो आयोजनाको उत्पादन अनुमतिपत्र पाएको थियो । यो आयोजनाको विद्युत पनि कालीगण्डकी कोरिडोर प्रसारण लाइनमार्फत नै राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।