सिडिओ साव ! ज्ञापन पत्र बुझेपछि बजार अनुगमन हुन्छ त ?

DSC03677
प्रताप बानियाँ / विकल्प
म्याग्दी, कार्तिक २३ । बजारमा कालोवजारी र महङगी नियान्त्रण गर्नुपर्ने भन्दै नागरिक समाज म्याग्दीले सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएको छ । म्याग्दीमा पछिल्लो समय कालोबजारीका कारण उपभोक्ताहरु ठगिएका छन् । इन्धन अभावको कारण देखाउँदै केही व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आउने गरेको छ ।

नेपालको संविधान जारी भएको अवस्थामा प्रतिक्रियास्वरुप भारतले नाकाबन्दी लगाएका कारण नेपालीहरुको मुख्य चाडपर्वमा भैरहेको कालोबजारी र महङ्गी नियन्त्रण गर्न माग गर्दै जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएकोे नागरिक समाज म्याग्दीले जनाएको छ ।
नागरिक समाजले सोमबारै जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापनपत्रसँगै सुर्यचन्द्र चिह्न अङ्कित राष्ट्रिय झण्डा समेत बुझाएको छ । उपभोक्ताहरुको हक प्रत्याभूति गर्न बजार अनुगमन र व्यवस्थापनका साथै अन्य व्यवस्था सहज बनाउन नेपाल सरकार र स्थानीय प्रशासनबाट आवश्यक कदम चाल्नुपर्ने नागरिक समाज म्याग्दीले जनाएको छ । म्याग्दीको प्रशासनले मौसमी बजार अनुगमन मात्र गर्ने गरेको गुनासो उपभोक्ताहरुले गरेका समयमा नागरिक समाजको ज्ञापन पत्रलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।
नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठ, सहसंयोजक चिरञ्जीवी शर्मा र सचिव तारानाथ शर्माको संयुक्त हस्ताक्षर रहेको ज्ञापनपत्रमा नाकाबन्दीका कारण बजारमा अत्यावश्यक औषधीलगायत दैनिक उपभोग्य सामानको अभाव भएको भन्दै त्यसको सहज आपूर्तिका लागि तत्काल आवश्यक कार्वाही अघि बढाउनुपर्ने माग गरिएको छ ।

यसैगरी समाजले सम्बन्धित सरोकारवालाहरुसँग आवश्यक छलफल गरी तुरुन्तै बजार अनुगमन गरेर जनतालाई जवाफदेही प्रशासनले प्रवाह गर्ने सेवाको पनि प्रत्याभूति दिन जोडदार माग गरेको छ । अत्यावश्यक तर मौज्दात बस्तुहरुको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गरिएको भन्दै ध्यानाकर्षण भएको नागरिक समाजको भनाई छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ज्ञापनपत्र बुझाइउको हो । ज्ञापनपत्र बुझ्दै प्रजिअ पाठकले समाजले उठाएका माग जायज भएको बताउँदै त्यसका लागि सबै सरोकारवालासँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउने बताएका थिए ।