‘स्विमिङ र डाइभिङ’कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ’

घोडेपानी, चैत ८ गते ।

एक्काइस वर्ष नौ महिना भारतीय सेनाको जागिरबाट अवकाश पाएर स्वदेश फर्किंदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको मनमा खेल प्रशिक्षक बन्ने सपना थियो ।

उहाँ गोर्खा सैनिकमा रहँदा ‘स्विमिङ’ र ‘डाइभिङ’ खेलमा भारतका राष्ट्रिय प्रतियोगितामा विजेता बन्नुभएको थियो । बैसठ्ठी वर्षीय उहाँले सन् १९७८ मा क्यानडामा भएको एघारौँ कमन वेल्थ, १९८२ को दिल्लीको नवौँ र १९८६ मा दक्षिण कोरियामा भएको एघारौँ एशियाली खेलमा पदक दिलाउनुभएको थियो ।

सन् १९७५ देखि ७९, ८१, ८२ र ८६ को राष्ट्रिय खेलकूद प्रतियोगिताको स्वर्ण पदक जितेका उहाँले १० वर्षसम्म भारतको राष्ट्रिय पौडी प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । “जनताको सेवा गरौँ भनेर राजनीतिमा हाम फालेर गाउँपालिकाको अध्यक्ष त बनेँ, राम्रो गरौँ भनेर लागेको छु”, उहाँले भन्नुभयो, “तर मेरा पदक कुना परेका छन् । विगत सम्झँदा र कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ ।”

भारतमा राम्रो तलब सुविधासहित पौडी प्रशिक्षकको रोजाइ छाडेर स्वदेश फर्किएका उहाँले पोखरामा भएको दोस्रो र वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय प्रतियोगितामा तत्कालीन गण्डकी अञ्चलबाट सहभागी भएर स्वर्णपदक दिलाउनुभयो ।

“पौडी र गोटाखोरको प्रशिक्षक बनेर सिप सिकाउने सपना थियो तर अवसर पाइन”, उहाँ भन्नुहुन्छ, “परिस्थितिले राजनीतिमा ल्यायो, पद पनि दिलायो । नेपालमा पौडी खेलको विकासमा योगदान गर्ने रहर पूरा भएको छैन ।”

विभिन्न प्रतियोगितामा पाएका पदक र प्रमाणपत्रले एउटा सानो प्लास्टिकको झोला भरिएको छ । फुर्सद हुँदा पदक र प्रमाणपत्र हेरेर विगत सम्झने उहाँ खेलकुदको विकासमार्फत देशलाई चिनाउन गाउँपालिकाबाट खेल प्रशिक्षण र पूर्वाधार निर्माणमा जोड दिएको बताउनुहुन्छ ।

खेल प्रतिभाको पहिचान गर्न गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सवका साथै अध्यक्ष कप खेलकूद प्रतियोगिता भएको थियो । कोरोनाका कारण यस वर्ष अध्यक्ष कप खेलकुद प्रतियोगिता बजेट विनियोजन भए पनि सञ्चालन हुन सकेको छैन । सबैजसो बस्तीमा व्यवस्थित खेल मैदान निर्माणको योजना अघि सारेको छ ।

सन् १९७२ मा घारको मुक्तिमार्ग माविको कक्षा ९ मा पढ्दै गर्दा भारतीय सेनामा भर्ती भएका उहाँ निवृत्त ‘क्याप्टेन’ हुनुहुन्छ । भारतीय सेनाका ‘लेफ्निनेन्ट’ रहेका बुवा मनबहादुर पुनको प्रभावमा परेर भर्ती भएका डमबहादुर पूर्वसांसद स्व नारायण सिंह पुनको सम्पर्कबाट राजनीतिमा जोडिनुभएको थियो ।

सन् १९९९ मा घोडेपानीमा सन्नी होटल खोलेर व्यवसायमा जोडिएका उहाँ हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । होटलका कोठालाई समेत अन्तरराष्ट्रिय खेलाडीको नामबाट नामकरण गरेर व्यवसायमा नयाँ शैली अपनाउनुभएको छ । होटलका कोठा पेले, रोनाल्डो र म्यारोडोना जस्ता खेलाडीबाट नामकरण भएका छन् ।

जनप्रतिनिधि बनेपछि श्रीमती र छोरालाई होटलको जिम्मा लगाएका उहाँ परिस्थितिले राजनीतिमा आउनुपरे पनि आफ्नो सीप, अनुभव र क्षमतालाई नेपालको खेल क्षेत्रमा उपयोग गर्न नसकेकामा दुखित हुनुहुन्छ । एमालेका गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग मितेरी साइनो गासेपछि उहाँ पुन चर्चामा हुनुहुन्छ । बैसट्ठी वर्षका डमबहादुर अझै तन्दुरुस्त र फुर्तिलो हुनुहुन्छ ।

सुविधा सामाजिक काममा

अध्यक्ष पुनले जनप्रतिनिधिको हैसियतमा सुविधाबापत पाएको अठार लाख रुपैयाँभन्दा बढी रकमलाई सामाजिक काममा खर्चिनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकूद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधाबापत पाएको रकम खर्चिनुभएको हो ।

सेवासुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करीब चार वर्षको अवधिमा रु १८ लाख दुई हजार सहयोग गरेको उहाँले विवरण सुनाउनुभयो । “पेन्सनले मेरो खर्च पुग्छ । परिवारका सदस्य आफैँ आत्मनिर्भर छन”, उहाँले भन्नुभयो, “जनतासँग गरेको प्रतिबद्धतानुसार सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगाएको हो ।”

खातामा रु तीन लाख बाँकी छ । गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक रु ४८ हजार सुविधा तोकेको छ । पोखराको सुन्दरीडाँडास्थित शिव मन्दिरमा नियमित पूजा सञ्चालनका लागि रु पाँच लाखको अक्षयकोष स्थापना गरेर एक जना पुजारीलाई तलबको व्यवस्था गर्नुभएका अध्यक्ष पुनले अन्नपूर्ण–४ गाडपारको नारच्याङ आधारभूत विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण इञ्जिनीयरिङको प्रवेश परीक्षा उत्तीर्ण भए पनि भर्ना हुन नसकेका पाउद्वारका काजल रोकालाई रु एक लाख सहयोग गरेर गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिनुभएको थियो । विद्युत चुहावट भइ दुवै हात गुमाएकी पाउद्वारकी कृशिखा विकको उपचारका लागि अस्पताल जान बाटो खर्चस्वरुप रु ३० हजार उपलब्ध गराउनुभयो ।

गाउँपालिकाका विद्यालयमा टेलिटिचिङ शुरु गर्न रु ५० हजार सहयोग गरेर अभियान शुरु गर्नुभएका अध्यक्ष पुनले ज्ञानप्रकाश माविलाई रु ५० हजार, मुक्तिमार्ग माविलाई रु ५० हजार, शिख माविलाई रु एक लाख, काफलडाँडाको करबाकेली संरक्षण समितिलाई रु एक लाख १० हजार, पाउद्वारको उपल्लोगाउँको आमा समूहको भवन निर्माणमा रु दुई लाख ५० हजार, पाउद्वार युवा क्लबलाई मन्दिर बनाउन रु ५० हजार, फलातेमा खेल मैदान बनाउन रु ५० हजार, किन्दुको आमा समूहलाई भाँडा खरीद गर्न रु ४२ हजार सहयोग गर्नुभएको छ ।

घराप आमा समूहको खानेपानी योजनालाई रु एक लाख १० हजारको पाइप खरीद गरेर उपलब्ध गराउनुभएका उहाँले बजेट अभावमा अधुरो बनेको घारको खानेपानी आयोजनालाई पूर्णता दिन रु एक लाख सहयोगको घोषणा गर्नुभएको छ । दोसल्लेका धनबहादुर पुनको घर पुनःनिर्माणका लागि जस्तापाता किन्न रु ३५ हजार सहयोग गर्नुभएको छ । कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई रु ५० हजार र हिस्तान स्वास्थ्य चौकीलाई रु ७५ हजार सहयोग गर्नुभएको छ ।

विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थी र खेलाडीलाई पुरस्कृत गर्नुभएका पुनले जनप्रतिनिधि नभएका अवस्थामा पनि सामाजिक क्षेत्रमा सहयोग र समय दिएर योगदान गर्नुभएको थियो । पहिरो, चट्याङ, आगलागीपीडितका साथै आर्थिक अभावका कारण उपचारका लागि अस्पताल पुग्न नसक्ने विपन्नका लागि पनि आफ्नो पारिश्रमिकबाट सहयोग गर्नुहुन्छ । प्राकृतिक प्रकोपको अवस्थामा जोखिम मोलेर आफैँ उद्धार र राहतमा अगुवाइ गर्नुभएको छ । रासस