भारतमा भाले जुधाइमा मारिए मालिक

विकल्प न्यूज/बेनी
फागुन १६ गते । 

भारतको तेलंगानामा अवैध भालेजुधाइ खेलका लागि एक भालेको खुट्टामा चक्कू बाँधिएको थियो । यो भालेले आफ्नै मालिकको ज्यान लिएको छ । भालेले भाग्ने कोसिस गरेको थियो र त्यतिबेला उसको खुट्टामा बाँधिएको चक्कूले उनका मालिकलाई गम्भीर चोट लाग्यो । यी व्यक्तिलाई अस्पताल लगियो जहाँ उनको अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भयो ।

उक्त कार्यक्रममा भाग लिएका अन्य १५ जनाको प्रहरीले खोजी गरिरहेको छ । भाले जुधाइ तेलङ्गना राज्यको लोथुनुर गाउँमा आयोजना भएको थियो ।

प्रहरीका अनुसार भालेलाई जुधाउनका लागि तयार गरिँदै थियो र त्यति नै बेला उसले भाग्ने कोसिस गरेको थियो ।

भाग्न लागेका कारण मालिकले भालेलाई समात्ने कोसिस गरेका थिए । दुई बीचको संघर्षमा भालेको खुट्टामा बाँधिएको ७ सेन्टिमिटर (३ इन्च) लामो चक्कूले मालिकलाई चोट लाग्यो ।

एएफपी न्यूज एजेन्सीको रिपोर्ट अनुसार उक्त कार्यक्रममा संलग्न मानिसहरुमाथि हत्या, अवैध सट्टेबानी र भाले जुधाइ आयोजना गरेका आरोप लगाइएको छ ।

स्थानीय प्रहरी अधिकारी बी जीवनलाई उद्धृत गर्र्दै   द न्यू इन्डियन एक्सप्रेसले दिएको जानकारी अनुसार भालेलाई अदालतमा पेश गरिनेछ ।

भातमा भाले जुधाइमाथि सन् १९६० मा रोक लगाइएको थियो तर तेलंगानाको ग्रामीण इलाकासमेत केही स्थानमा यस्ता लडाईं अहिले पनि आयोजना गरिन्छ ।

बीबीसी