धार्मिक स्थल मालिकालाई प्रवद्र्धन गर्न हाइकिङ

विकल्प न्यूज/बेनी
फागुन ८ गते ।


लायन्स क्लब अफ बेनी पिस सिटीले मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हाइकिङ कार्यक्रमको आयोजना गरेको छ । पहाडको टुप्पोमा रहेको प्रख्यात धार्मिक स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले शनिबार हाइकिङ कार्यक्रमको आयोजना गरेको हो ।

लायन्स क्लबका पदाधिकारी,पत्रकार र मालिका गाउँपालिका ७ विमका स्थानीय सहित शुक्रबार मालिका धुरी पुगेका उनीहरुले शनिबार विहान मालिका देवीको दर्शन गर्नुका साथै स्थानीयहरु सँग छलफल गरे ।

 

 

प्रख्यात धार्मिक स्थल मालिका धुरीलाई देश विदेशमा प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले हाइकिङ कार्यक्रमको आयोजना गरिएको बेनी पिस सिटीको अध्यक्ष खमबहादुर थापाले बताउनुभयो ।

 

मालिका धुरी धार्मिक एवम् प्राकृतिक हिसावले सुन्दर र रमणीय स्थान भएकाले सरोकारवालाहरुले यहाँको विकासमा ध्यान दिनुपर्ने क्लबका संस्थापक अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

पूर्वाधारको विकास गरि धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने थुप्रै संभावना रहेको स्थानीयवासी दल शेरपुन्जाले बताउनुभयो ।

पूर्वाधारको विकास र प्रचारप्रसार गर्न सके धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने राम्रो संभावना रहेको मालिका देवी पुजा व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो ।

मालिकाधुरीमा त्रिदेवीहरू मालिका, कालिका र जालिकाको बास छ। त्रिदेवीको दर्शनले मनोकामना पूरा हुन्छ। त्यसैले वैशाखे पूर्णिमा, जेष्ठी पूर्णिमा र भाइटीकाका बेला डाँडामा मेला लाग्छ। यहाँबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको नजिकबाट दृश्यवलोकन गर्न सकिन्छ ।

क्लबले जिल्लाका पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि निरन्तर रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । यस अघि मंगलाको झार्कीपानीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फोटो पत्रकारहरुका विच फोटो खिच्ने प्रतिस्पर्धा कार्यक्रम गरिसकेको छ ।