मिलनचोक–सल्यान–धारापानी सडकमा धमाधम काम (भिडियो सहित)

विकल्प न्यूज/जलजला
फागुन ५ गते ।

पर्वतको जलजला गाउँपालिका–७ मिलनचोक देखि सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक कालोपत्रे योजनामा धमाधम काम भइरहेको छ । मिलनचोक देखि ठोटनेरी सम्म सडक फराकिलो बनाउने,ग्रेड मिलाउन काम सकिएको छ । यतिखेर नाली बनाउने,रिटे«निङ वाल लगाउने लगायतका कामले तिव्रता पाएको छ ।

अगमी जेठ महिनासम्म मिलनचोक देखि ४ किलोमिटर सडक कालोपत्रे गर्ने गरी तयारी गरिएको जलजला गाउँपालिकाका इन्जिनियर जेपी चौधरीले जानकारी दिनुभयो । आगमी मंसिरसम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्षेत्रमा निर्माण कम्पनिका करिब १५० जना मजदुरहरु परिचालन भएका छन् । यसै गरी ५ वटा डोजरले नियमित रुपमा काम गरेका छन् । ५ मिटर २५ सेन्टिमिटर चौडाइमा कालोपत्रे हुने सडक सात मिटर र एक मिटर नाली हुने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमुना सडक आयोजना अन्तरगत मिलनचोक देखि धाइरीङ जोड्ने १० किलोमिटर सडक स्तरउन्नती सहित कालोपत्रे गर्न प्रदेश सभामुख सांसद नेत्रनाथ अधिकारीको सिफारिसमा योजना छनौट गरिएको हो ।

योजनाको गत वर्ष राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,प्रदेश सभामुख अधिकारीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।

पूर्वाधार विकास कार्यालय पर्वतले २०७६ मंसिर ६ गते हिमदुङ एण्ड थोकर प्रा.लि सँग २८ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २०७८ मंसिर ५ गतेसम्म दुईवर्षको ठेक्का अवधि रहेको छ ।

 

११ वर्षअघि तत्कालीन जिविस, गाविस र स्थानीयबासीको अगुवाइमा ट्याक खोलिएको सडक कच्चि अवस्थामा थियो । सडक कालोपत्रे भएपछि धाइरीङमा उत्पादीत तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज हुनुका साथै कृषि र जलजलाको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।