मंगलाको बाबियाचौरमा हरियाली पार्क

विकल्प न्यूज/बेनी
फागुन ५ गते ।

मंगलाको बाबियाचौरमा हरियाली पार्क निर्माण गरिएको छ । पछिल्लो समय बढ्दो सहरी कोलाहलबाट मुक्त हुन तथा धुलो, धुँवाबाट बच्नका लागि इन्द्रेणी अर्थात् हरियाली पार्क निर्माण गरिएको हो ।

वायु तथा ध्वनी प्रदूषणबाट बच्नुका साथै स्वस्थ जीवनयापन जीउनेतर्फ मानवलाई आकर्षित गर्न हरियाली पार्क निर्माणको अवधारणा अगाडि बढाइएको हो ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यापर्यटन कार्यक्रमअन्तर्गत स्थानीय तहमा हरियाली पार्क निर्माण गरिएको छ । हरियाली पार्क बनाउन प्रदेश सरकारले गत वर्ष १८ लाख रुपैयाँको उपलब्ध गराएको थियो ।

पर्यटकहरुको चहलपहल बढाउन तथा बालबालिका, ज्येष्ठनागरिक र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको हरियाली पार्कमा विभिन्न प्रजातिका सुगन्धवाल फुलका विरुवाहरु रोपिएका छन् ।

अक्सिजन उत्सर्जन गर्न, पर्यटकलाई वनस्पतिसम्बन्धी विषयमा सूचना दिन र जैविक विविधताको संरक्षण एवं अभिवृद्धि गर्ने उद्देश्यले हरियाली पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

निर्माण गरिएका पार्कमा दुबो, धुपी, कपुर, अशोक, बुलमहर, कल्कीफुल प्रजातिका सदाबहार हरियाली भैरहने र सुगन्धवाल बिरुवाहरु रोपिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा मंगला इन्द्रेणी पार्क निर्माणमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । बाबियाचौर निवासी क्या. ईन्द्रबहादुर अधिकारीले करिब ४ रोपनी जग्गा निःशुल्क दिएपछि इन्द्रेणी पार्क निर्माण गरिएको छ । हरियाली पार्कले पर्यटकको चहलपहल बढाउने अपेक्षा गरिएको छ ।