मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा कालोपत्रे (फोटोसहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
फागुन ४ गते ।

 
मंगला गाउँपालिकाको केन्द्र बावियाचौर बजारमा कालोपत्रे गर्न सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान १ करोड र गाउँपालिकाको १३ लाख रुपियाँ बजेटबाट सडक कालोपत्रे गर्न सुरु गरिएको हो । गाउँपालिका केन्द्रको सडक कालोपत्रे गर्न लागिएको यो जिल्लामै पहिलो हो ।

गत वर्ष नै सडक कालोपत्रे सम्पन्न गर्ने सोमरस निर्माण सेवा कम्पनी सँग सम्झौता भएको थियो । तर कोरोना महामारीको कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसंगको अनुमतिमा म्याद थप गरि सम्पन्न गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताउनुभयो ।

बजार क्षेत्रको करिब ६ सय मिटर सडकलाई ३ दशमलब ७५ मिटर फराकिलोमा कालोपत्रे गर्न लागिएको उहाँले बताउनुभयो ।

गत बर्ष बेस र सबबेस संगै सडकको नाली बनाउने काम सम्पन्न भएको थियो । कालोपत्रे योजनालाई गुणस्तरीय र टिकाउ बनाउनको लागि निर्माण सामाग्रीको प्रयोग र निर्माण कार्यमा निरन्तर अनुगमन र अवलोकन भैरहेको गाउँपालिकाका इन्जिनियर सुजन पाध्यायले बताउनुभयो ।

सडक कालोपत्रे संगै बजार बजारको सौन्दर्यता थपिएको छ । कालोपत्रे योजनालाई गुणस्तरीय बनाउनका लागि गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र स्थानीय सरोकारवालाहरुले समेत नियमित रुपमा निगरानी गरिरहेका छन् ।

 

हिउँदमा धुलो र बर्षा याममा हिलोको सास्ती भोग्दै आएकोमा सडक कालोपत्रे भएपछि धेरै राहत महसुस भएको म्याग्दी उद्योग बाणिज्य संघ बाबियाचौर इकाईका अध्यक्ष राजु पाण्डेले बताउनुभयो । ‘‘ गाउँपालिका स्तरमा जिल्लामै पहिलो पटक सडक कालोपत्रे भएको छ, बिस्तारै ग्रामीण सडकहरु पनि स्तरोन्नती हुँदैछन्, यसको लागि गाउँपालिकाको नेतृत्वले गरेको भुमिकाप्रति आभारी छौँ’’– पाण्डेले भन्नुभयो ।