ताजा समाचार:
Search

राष्ट्रिय प्रशारणमा जोडियो घलेम्दी

विकल्प न्यूज/बेनी
माघ २७ गते ।  

अन्‍नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भएको एक वर्षपछि उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । नारच्याङको घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेशनको क्षमताले धान्‍न नसकेपछि पाँच मेगावाट क्षमताको घलेम्दी पूर्ण क्षमतामा सञ्‍चालन हुन सकेको थिएन ।

नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण गाउँपालिका-३ दानामा गत हप्तादेखि सञ्‍चालन गरेको २२० केभी क्षमताको सब-स्टेशनबाट घलेम्दीका साथै मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेमा निर्माण भएको १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । दानामा सब-स्टेशन र कुश्माको खुर्कोट जोड्ने प्रशारण लाइन तयार पारेपछि पूर्ण क्षमतामा सञ्‍चालन र केन्द्रीय ग्रिडमा जोडिएको घलेम्दी हाइड्रोपावरका सञ्‍चालक प्रमोद श्रेष्ठले बताए ।

‘प्रशारण लाइन र सबस्टेशन नपाएर एक वर्षसम्म विद्युत् खेर फाल्दा रु १० करोड र बैंकको ब्याज तिर्दा रु १० करोड नोक्सान भएको छ,’ घलेम्दी हाइड्रोपावरका सञ्‍चालक श्रेष्ठले भने, ‘राज्यले समयमा पूर्वाधार, अनुकूल नीति र लगानीमैत्री वातावरण बनाउन नसक्दा नोक्सानी व्यहोर्नु र दुःख पाउनुपरेको छ ।’ निजी क्षेत्रबाट निर्मित म्याग्दीको पहिलो आयोजना घलेम्दीले विसं २०७६ माघ १६ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको थियो । दानामा २२० केभी क्षमताको सबस्टेशन र दाना-खुर्कोट प्रशारणलाइन तयार नहुँदासम्मका लागि ३३ केभी क्षमताको तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेशनबाट करीब एक मेगावाट मात्र विद्युत् बिक्री गर्न सकेको थियो ।

घलेम्दीमा हिउँदमा २.५ मेगावाट विद्युत् निस्किएको छ । थापाखोला जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन शुरु गरेको तीन वर्षपछि केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो । प्रशारण लाइन र सबस्टेशन नहुँदा थापाखोलाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकेको थिएन ।

तेत्तीस केभी क्षमताको बेनी-जोमसोम लाइनको कोवाङ सबस्टेशनको क्षमताले नधान्दा बढीमा ६.८ मेगावाट मात्रै विद्युत् केन्द्रीय लाइनमा जोडेको थापाखोलाले पूर्ण क्षमतामा चलाउन नपाउँदा रु. ९२ करोड आम्दानी गुमाउनु परेको प्रर्वद्धक माउन्ट कैलाश इनर्जीका अध्यक्ष भरत खड्काले बताए । ‘हामीले ३८ महिनाअघि थापाखोला निर्माण सकेका थियौँ,’ उनले भने, ‘२२० केभी क्षमताको दाना सबस्टेशन र प्रशारण लाइन बनेपछि विद्युत् खेर फाल्नुपर्ने अवस्थाको अन्त्‍य भयो ।’ थापाखोलाले दानासम्म यसअघि नै प्रशारण लाइन निर्माण गरेको थियो ।  रासस