विकल्प न्युज म्याग्दी,
माघ २० गते । म्याग्दीस्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर पदमार्ग यात्रा सहज बन्न थालेको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने सो आधार शिविर हुँदै मुस्ताङको मार्फा जोड्ने यो पदमार्गमा केही वर्षअघि सम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो ।
आधार शिविरसम्म व्यवस्थित पदमार्ग निर्माण भएपछि आवतजावत सहज हुनाका साथै पर्यटक आगमन बढ्न थालेको धवलागिरि–४ खाम्लाका यामलाल शर्माले बताउनुभयो । सो आधार शिविरको पर्यटन विकासका लागि गाउँपालिका, सङ्घीय र प्रदेश सरकारको साझेदारीमा पदमार्ग, सूचना केन्द्र र मोबाइल फोन सेवा विस्तारको लागि बिटिएस भवन निर्माण भएको छ । “नाउराको भिरदेखि इटली आधार शिविरमा आधारभूतस्तरको पदमार्गले जोडिएको छ”, शर्माले भन्नुभयो “नयाँ पदमार्ग निर्माण भएपछि साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।”
पदमार्ग बनेपछि भरिया र हेलिकप्टरको विकल्पमा खच्चरबाट सामान ढुवानी हुन थालेको छ । पर्यटकहरू पैदल यात्रा गरेर आधार शिविर पुग्न थालेका छन् । भिर र जङ्गलको जोखिमपूर्ण ठाउँमा बाटो फराकिलो र सिँढीसहितको पदमार्ग बनाउन गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पछिल्ला दुई वर्षमा करिब रु दुई करोड लगानी गरेको छ । २०७५ सालमा रु ५० लाखमा नाउराभिरदेखि सल्लाघारीसम्म र २०७६ सालमा रु ४० लाखमा तलित्रेदेखि इटली आधार शिविरसम्म ६ किलोमिटर पदमार्ग निर्माण भएको थियो ।
प्रदेश सरकारले अर्को शीर्षकमा २०७५ सालमै विनियोजन गरेको रु ५० लाखबाट मुदी, नाउरा, खाम्ला, घिमलेटी, खिवाङ–देउराली क्षेत्रमा पदमार्ग बनाइएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले बताउनुभयो । “स्विस बेसक्याम्पसम्म खच्चर हिँड्न मिल्ने पदमार्ग बनेको छ”, उहाँले भन्नुभयो, “खोलाहरूमा झोलुङ्गेपुल र इटली आधार शिविरसम्म सिँढीसहितको पदमार्ग बनाउन बाँकी छ । यसअघि बनाएको पदमार्ग स्तरोन्नति गर्नुपर्ने देखिन्छ ।”
गत आर्थिक वर्षमै धवलागिरि गाउँपालिकाको रु ३० लाखमा बगर, बाँसबोट, सिङकुस, जुरकुस हँदै मल्कबाङ जोड्ने डाँडाखर्कसम्मको पदमार्ग पनि निर्माण भएको छ । पर्यटकको तथ्याङ्क राख्न, सूचना र प्राथमिक उपचार सेवा उपलब्ध गराउन इटाली आधार शिविरमा चेक पोष्ट सञ्चालनका लागि भवन बनाइएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।
आधार शिविरसम्म मोबाइल सेवा विस्तार गर्न बगरको देउरालीमा टेलिकमले बिटिएस टावर स्थापना गर्न गत वर्ष नै भवन निर्माण गरेको अध्यक्ष पुनले बताउनुभयो । सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु १५ लाख बजेटबाट विसं २०७५ मा इटाली क्याम्पदेखि स्विस क्याम्पसम्म ढुङ्गाको सिँढीसहितको पदमार्ग बनाइएको थियो । रु ३१ लाख लागत अनुमान गरिएको चेक पोष्टको भवन निर्माण समितिका पदाधिकारीले गाउँपालिकाले पूरा रकम भुक्तानी नदिँदा मर्कामा परेको गुनासो गरेका छन् ।
चालू आर्थिक वर्षमा पर्यटन विभागले थप रु चार करोडको ठेक्का प्रक्रिया अघि बढाएको छ । पर्यटन मन्त्रालयले धौलागिरि आधार शिविर र चक्रीय पदमार्गलाई स्थापित पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । धवलागिरि आधार शिविर पदमार्गमा पूर्वाधार बनाउन पर्यटन विभागले हालै ठेक्का प्रक्रिया अघि बढाएको निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
“पैदलमार्ग बनाउने, पुल हाल्ने, पोर्टर सेल्टर बनाउने लगायतका काम गर्न बजेट विनियोजन भएको हो”, उहाँले भन्नुभयो, “मुदी हुँदै आधार शिविरका साथै मुस्ताङको मार्फासम्मको पदमार्गलाई स्तरोन्नति गरेर पर्यटक सहजरुपमा आवतजावत गर्न मिल्ने बनाउन लागिएको हो ।”
बगरको प्राकृतिक तातोपानी कुण्ड संरक्षण गर्न प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सामाजिक विकासमन्त्री नरदेवी पुनको सिफारिसमा रु छ लाख बजेट विनियोजन भएको छ । जापानिज आधार शिविरमा म्याग्दी खोलामाथि ४६ मिटर र इटली आधार शिविरमा अर्को ३५० मिटर लामो झोलुङ्गेपुल निर्माणका लागि सर्वेक्षण गरिएको छ ।
थप पाँच ठाउँमा पुल र स्विस क्याम्पबाट जापानिज क्याम्पसम्म पदमार्ग निर्माणको आवश्यकता छ । बगर, नाउरामा घरबास तथा सल्लाघारी, दोभान र इटली आधार शिविरमा चिया पसल सञ्चालन गरेका छन् । आवास सुविधाका लागि होटेल सञ्चालन नहुँदासम्म यस पदमार्ग क्याम्पिङ टे«किङ गर्नुपर्ने हुन्छ । मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजीकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य धौलागिरि चक्रीय पदमार्गको मुख्य आकर्षण हो ।
पुल अभाव
धवलागिरि गाउँपालिका–४ मा पर्ने बगरा गाउँदेखि आधार शिविरसम्म पुग्ने पाँच दिनको बाटोमा पर्ने १५ वटा घाटमा झोलुङ्गेपुल छैनन् । म्याग्दी नदी र अन्य सहायक खोला वारपार गर्न काठका अस्थायी साँघु र जङ्घार तर्नुको विकल्प छैन ।
बगरका कृष्णबहादुर बुढाथोकीले झोलुङ्गेपुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता भएको बताउनुभयो । “बर्खाको तीन महिना असारदेखि भदौसम्म आवतजावत ठप्प हुन्छ”, उहाँले भन्नुभयो, “ढलेका रूख र काठ तेर्साएर बनाएका अस्थायी पुलबाट आवतजावत गर्दा दुर्घटनाको जोखिम छ ।”
पुल नभएर जोखिमपूर्ण यात्रा गर्नुपर्दा जोखिम हुने भएकाले हेलिकप्टर चढेर आधार शिविर जाँदा पदमार्गका बासिन्दाले लाभ पाउन नसकेको बगरका नरप्रसाद तिलिजाले बताउनुभयो । “धेरैजसो पर्यटक हेलिकप्टरबाट सिधै बेसक्याम्प पुग्छन्”, उहाँले भन्नुभयो, “सुरक्षित पुल हुने हो भने पर्यटक आगमन पनि बढ्ने थियो, हेलिकप्टरबाट जानुपर्ने थिएन ।”
दुर्गम र विकट भएकाले पुल निर्माण गर्न चुनौती भए पनि पुलको योजना परेमा आफूहरू श्रमदान गर्न तयार भएको स्थानीयवासी तमबहादुर पुर्जा बताउनुहुनछ । “योजना परेमा जङ्गलमै बास बसेर भए पनि पुल बनाउँथ्यौं”, उहाँले भन्नुभयो, “पुल बनाउने हाम्रो मागको कतैबाट सुनुवाइ भएन ।”
बगरादेखि आधार शिविरसम्म रातोखोला, तातोपानी कुण्ड जाने म्याग्दीखोला, झम्मरुकोट खोला, धाप्चा खोला, कैचीभिर खोला, तलित्रे खोला, हरथेवे खोला, ठाडोओडार खोला, चौरवन खोला, इटाली बेसक्याम्पको म्याग्दी खोला, स्विस क्याम्प खोला र जापानिज बेसक्याम्प नजिक म्याग्दी खोलामा पुलको माग गरेका छन् ।
गाउँपालिकाले १२ स्थानमा झोलुङ्गेपुल र तीन स्थानमा साना कल्भर्ट निर्माण गर्न स्थलगत अध्ययन गरेर आवश्यकता पहिचान गरिएको जनाएको छ । प्रदेश र सङ्घीय सरकारसँग पुल निर्माणको योजना माग गरिएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । “पालिकाको स्रोत र प्रविधिले पुल बनाउन सम्भव नभएपछि प्रदेश र सङ्घीय सरकारसँग योजना मागेका छौँ”, उहाँले भन्नुभयो, “पुल र सुरक्षित पदमार्ग बनाएर पर्यटक बढाउन पहल गर्छौं ।” वर्षमा करिब २०० पर्यटक हिमाल आरोहण र पदयात्राका लागि धौलागिरि आधार शिविर पुग्ने गर्छन् । रासस
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...