मल्कबाङका पाखाभरी तामाखानी ः वर्षौ देखि प्रयोग विहिन

ठाकुरप्रसाद आचार्य /बेनी
माघ २० गते ।

वर्षौ देखि प्रयोगविहिन भएका धौलागिरि गाउँपालिका ५ मल्कबाङका तामाखानीहरु पुरिन थालेका छन् । करिब एकसय वर्ष पहिला स्थानीयवासीहरुले तिनै खानीबाट तामा निकालेर घरयासी भाडाबर्तनहरु बनाउने गर्दथे । बाहिरबाट तामाका भाडाहरु खरिद गर्नुपर्ने थिएन । तर तत्कालिन सरकारले खानी उत्खनन् गर्नेहरुबाट कर लिन थालेपछि खानी बन्द भएका हुन ।

मल्कबाङ गाउँमा मात्र एकदर्जन भन्दा बढी तामाखानीहरु छन् । खानी उत्खनन् गर्नु स्थानीय छन्त्याल जातीहरुको पुख्र्यौली पेशा हो । गाउँ देखि माथिका पहाडहरुमा तत्कालिन समयमा तामा उत्खनन गरेका सुरुङहरु छन् । पाखाभरी प्रशस्त तामाखानीहरु छन्, प्रयोगमा नआएपछि पुरिन थाले स्थानीय दलमान छन्त्यालले भन्नुभयो ‘माल पाएर पनि चाल नपाएपछि टुलुटुलु हेर्ने बाहेक हामी सँग विकल्प रहेन ।’

बाबुबाजेले तामाखानी उत्खनन् गरेर जिविकोपार्जन गर्ने गरेको भनाई सुन्ने गरिन्छ छन्त्यालले भन्नुभयो ‘सरकारले तामा खानी सञ्चालन गर्न सहज वातावरण मिलाइदिए हामी युवाहरु कामको खोजीमा विदेश जानुपर्ने थिएन ।’

तामाखानी सञ्चालनका लागि सरकारले कानुनी व्यवस्था गर्नुका साथै सीप र प्रविधि उपलब्ध गराउन स्थानीयवासीहरुको माग छ । तामाखानीहरुको अध्ययन र अनुसंधान गरि पुनः सञ्चालनमा ल्याउन स्थानीयहरुको माग छ । गाउँमै प्रकृतिक स्रोतसाधन भएर पनि उपयोग गर्नबाट बञ्चित भएका छौं स्थानीय अमर छन्त्यालले भन्नुभयो ‘तामाखानीको अध्ययन अनुशन्धान गरी पुन सञ्चालन गर्न सरकार सँग माग गर्दछौं ।’

आफ्ना पुर्खाहरुले खानी खनेका ठाउँ वरपर अहिलेपनि तामाका धाउहरु भेटिने भएकाले यस क्षेत्रमा तामा खानीको सम्भावना अध्ययन गरि पुनः सञ्चालनमा ल्याउनुपर्ने छन्त्यालले बताउनुभयो ।

तत्कालिन सरकारले खानी उत्खनन गर्नेहरुबाट लिने करबापतको ‘भेजा’ बढी लिन थालेपछि छन्त्याल समुदायको पुख्यौली पेशा खानी उत्खनन् संकटमा पर्न थालेको थियो । म्याग्दीमा अहिले खानीका भग्नाबशेष भएका ठाउँ नजीक छन्त्याल समुदायकै बसोबास छ । छन्त्याल समुदायले खानीबाट तामा, फलाम लगायत उत्खनन् गरि अन्य ठाउँमा पुगेर अन्नसंग साटेर गुजारा चलाउने गरेको वडा अध्यक्ष खर्ककुमारी छन्त्यालले बताउनुभयो । पुर्खाहरुले स्थानीय प्रविधि र सीप प्रयोग गरेर उबेला खानी उत्खनन गर्ने गरेको छन्त्यालले बताउनुभयो ।

मल्कबाङमा अहिलेभन्दा एकसय ७१ बर्ष अघि गाउँमै रहेका खानीहरुबाट उत्खनन् गरिएको तामाबाट बनाईएका भाँडाहरु समेत छन् । स्थानीय लाल बहादुर छन्त्यालको घरमा वि.स. १९०४ बनेका भाँडाकुडा अहिले पनि छन् । आफ्नो पुख्र्यौली सामानमा उक्त मिती उल्लेख भएका ६ माने पाथी र गाग्री समेत भेटिएपछि आफुहरुले त्यसलाई जोगाएर राखेको उहाँले बताउनुभयो ।

धौलागिरि गाउँपालिकाको मल्कबाङ संगै वडा नम्बर १ गुर्जा, वडा नम्बर ७ मच्छीम, धारापानी लगायतका क्षेत्रमा समेत तामा, फलाम लगायतका खानी खनेका सुरुङहरु रहेका छन् । गाउँपालिकाभित्र रहेका यस्ता खानीका सुरुङहरुलाई संरक्षण र सम्भाव्यता अध्ययनको लागि गाउँपालिकाले नीति बनाएपनि कार्यान्वयन आउननसकेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।