ताजा समाचार:
Search

प्रतिनिधि सभा विघटनको विरोधमा म्याग्दीका सबै वडामा कांग्रेसको बिरोध सभा

विकल्प न्यूज/बेनी
माघ ९ गते ।

नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधि सभा विघटनको विरोधमा जिल्लाका ४५ वडामा बिरोध प्रदर्शन गरेको जनाएको छ। प्रधानमन्त्री केपी ओलीको प्रतिगमन कदम विरुद्ध केन्द्रको निर्णय अनुरुप जिल्लाका सबै वडामा प्रर्दशन सहितका कार्यक्रम गरेको प्रबक्ता अजयमिलन श्रेष्ठले बताए ।

विरोधसभामा पार्टी सभापति खम्बीर गर्बुजा रघुगंगा गाउँपािलका–२ भगवती, निर्वतमान सभापति एवम् संविधानसभा सदस्य रेशमबहादुर बानियाँ बेनीबजार, पार्टीका अन्य पदाधिकारी सहित जिल्ला कार्यसमितिका सदस्यले आफ्नो वडामा विरोध कार्यक्रममा सहभागि भएको प्रबक्ता श्रेष्ठले बताए ।

जिल्लाको ५ वटै स्थानीय तहमा एकसाथ आयोजित प्रदर्शन सहित कोण सभामा बोल्ने बक्ताले चुनावमा जान कांग्रेस तयार भएपनि प्रतिनिधिसभा पुर्नस्थापना लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताएका थिए ।

नेपाली कांग्रेसले वडास्तरसम्म पुगेर विरोधका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै प्रतिगमन कदम बिरुद्ध कांग्रेसले कुनै सम्झौता नगर्ने पार्टी सभापति गर्बुजाले बताए । ‘कांग्रेसले सरकारको नेतृत्व गर्दा देशलाई संविधान दियो, आफुँ हारेर चुनावमार्फत कम्यूनिष्टलाई सत्ता हस्तान्तरण गर्यो’ सम्बोधनमा पार्टी सभापति गर्बुजाले भने ।

विरोधसभासँगै विभिन्न वडामा भ्रातृ संस्था नेपाल तरुण दलले वडा इकाई समितिको पदपूर्ति समिति पुनर्गठन तथा संगठन बिस्तार र संगठन सुदृढीकरणको अभियान समेत सञ्चालन गरेको तरुण दल म्याग्दीका सभापति मुकुन छन्त्यालले बताए।

जिल्लाका सबै वडामा तरुण दल विस्तारलाई निरन्तरता दिने छन्त्यालले बताए । कांग्रेसले केन्द्रिय कार्यक्रम अनुसार प्रर्दशन सहितका अभियानहरुलाई स्थानीय तहस्तरमै सञ्चालन गरिरहेको छ ।