यसरी हुदैछ क्याम्पस चाेकमा भेलबाढीको व्यवस्थापन

विकल्प न्यूज/बेनी
माघ ७ गते ।


हरेक बर्षायाममा भेलबाढीको त्रास खेप्दै आएका सदरमुकाम बेनी स्थित क्याम्पसचोक क्षेत्रका स्थानीयको समस्या समाधानको लागि दिगो ढल निकासको पूर्वाधार बनाउने बाटो खुलेको छ ।

अर्थुङ्गे देखि क्याम्पसचोक हुँदै आउने बाढीलाई निकास दिन बेनी नगरपालिकाले निजी घरजग्गा अधिग्रहण गरि ढल निकासको अल्झन हटाउन लागेको हो ।

भेलबाढी र ढलको दिगो निकास र ब्यवस्थापनका लागि क्याम्पसचोकको तल्लो भागमा रहेको विष्णु शर्माको दुई तले घर र सोही घरको पछाडी कालिपुलको सडकसंग जोडिएको मीन सापकोटाको जग्गा अधिग्रहण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।

‘‘गत बर्ष समेत बजेट विनियोज गरिएको थियो, तर काम सम्पन्न हुन सकेन, यस बर्षपनि बजेटलाई निरन्तरता नै दिइयो, स्थानीयासीले समेत रकम संकलन गर्नुभएको छ, अब सबै प्रकृया पुरा भएको छ, केहि दिनमा नै घरजग्गा अधिग्रहणको काम सम्पन्न हुन्छ’’–सुवेदीले भन्नुभयो ।

नगरपालिकाले ढल निकासको लागि अधिग्रहण गर्ने घरको भुईतलाबाट व्यवस्थित नाली बनाएर बाढी र ढललाई निकास दिने र माथिल्लो तलामा वडा नम्बर ८ को कार्यालय सञ्चालन गर्ने तयारी गरिएको छ ।

घर अधिग्रहणको काम सकिएलगत्तै ढल निकासको नालि लगायतका पूर्वाधार निर्माण गर्ने र सोहि घरको माथिल्लो तलामा वडा कार्यालय सञ्चालन गर्ने तयारी गरिएको वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो । ‘‘बर्षेनी माथिबाट आउने बाढी सहितको भलको निकास थिएन, क्याम्पसचोक क्षेत्रका धेरै घरहरुमा बाढी बस्ने समस्या बढ्दै गएको थियो, त्यसको दिर्घकालिन समाधानका लागि ढलको निकास खोल्नुपर्ने थियो, नालीको अगाडी पर्ने घर र जग्गा अधिग्ररणले बाढीको दिगो व्यवस्थापनको बाटो खुलेको छ’’– नगरपालिकाका प्रवक्ता समेत रहनुभएका बराईलीले भन्नुभयो ।

अब नगरपालिकाले क्याम्पसचोकसम्म आउने बाढीलाई कालीगण्डकी सम्म पुग्ने गरि नाली लगायतका पूर्वाधार बनाउने भएको छ । नगरपालिकाले निजी घर र जग्गा अधिग्रहण कार्यका लागि ७५ लाख बजेट विनियोजन गरेको थियो । क्याम्पसचोकका स्थानीयबासीले समेत २२ लाख रकम संकलन गरेका छन् ।

नगरपालिकाका अनुसार, घरको संरचना र जग्गा अधिग्रहणका लागि करिब १ करोड २२ लाख सरकारी मुल्याङ्कन भएको छ । नगरपालिकाले विनियोजन गरेको र स्थानीयबासीले संकलन गरेको रकममा अपुग हुने थप बजेट समेत नगरपालिकाले नै व्यवस्थापन गर्ने कार्यपालिका बैठकबाट निर्णय भैसकेको नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।

अधिग्रहण लगत्तै ढल निकासका लागि नाली निर्माण गर्ने तयारी रहेको मेयर श्रेष्ठको भनाई रहेको छ । घरजग्गा अधिग्रहणमा नगरपालिकालाई सघाउन स्थानीयबासीले समेत संकलन गरेको रकमलाई नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

सहयोग संकलन समितिका संयोजक गोविन्द बानियाँले नगरपालिकाका मेयर श्रेष्ठलाई सो रकम बुधबार हस्तान्तरण गर्नुभएको छ । सरकारी मुल्याङ्कन बमोजिमको रकम जिल्ला प्रशासन कार्यालय मार्फत घरजग्गा धनीलाई मुआब्जा दिएर जग्गा अधिग्रहण गर्ने नगरपालिकाको तयारी छ ।

हरेक बर्ष बर्षा याममा यस क्षेत्रमा बाढीले डुवान पर्ने र सडक तथा पसलमा समेत क्षति पु¥याउँदै आएको छ । क्याम्पसचोकमा माथिबाट आउने भलबाढी बग्ने खोल्सो अतिक्रमित भएर घर बनेपछि निकासको समस्या रहँदै आएको थियो ।

नगरपालिकाले अधिग्रहण गर्न लागेको घरका घरधनीको सहमतीमा घरमुनीबाट सानो नालीबाट क्याम्पसचोक क्षेत्रको ढललाई निकास दिदै आएको भएपनि बर्खायाममा आउने बाढीलाई निकास नपुग्दा हरेक बर्ष यस क्षेत्र बाढीको चपेटामा पर्दै आएको थियो ।

हरेक बर्ष बाढी आउने र त्यसको दिर्घकालिन निकास नहुँदा बाढीको सामाना गर्नुपर्ने अबस्था आएपछि आफ्नो नीजि आबश्यकता भन्दा माथि उठेर क्याम्पसचोकबासीको समस्या समाधानको लागि घरलाई अधिग्रहण गर्न सहमती दिएको घरधनी शर्माको भनाई छ ।

‘‘ हामि पनि यहि समाजका हौँ, हाम्रो व्यापार भन्दा यहाँका स्थानीयबासीले भोग्ने समस्या ठुलो हो, त्यसैले हामीले नगरपालिका र स्थानीयबासीबाट भएको आग्रह बमोजिम उचित मुल्याङ्कन सहित मुआब्जा लिएर घरलाई दिने मञ्जुर भयौँ’’– शर्माले भन्नुभयो ।

नगरपालिकाको निर्णय बमोजिम प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा मालपोत र नापी कार्यालयका अधिकृत समेत रहनुभएको जिल्ला मुआब्जा निर्धारण समिति मार्फत घरजग्गाको मुल्याङ्कन गरि गत असोजमा अधिग्रहणको निर्णय गरिएको थियो ।

नीजी घरजग्गा अधिग्रहण गरि बाढी व्यवस्थापनमा जुटेको नगरपालिकाले यस कार्यलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिएको छ । बेनी–अर्थुङ्गे हुँदै पाखापानी सडकखण्ड भएर आउने बाढीले बेनीको क्याम्पसचोकसंगै अस्पतालचोक र मंगलाघाट क्षेत्रमा प्रत्येक्ष असर पु¥याउँदै आएको छ ।