प्रवासी म्याग्देलीद्धारा बाढीपहिरो पीडितको पुर्नस्थापना अभियान सुरु

विकल्प न्यूज/बेनी
माघ ७ गते ।

   

 गत असार २५ गते आएको भिषण पहिरोका कारण घर विहिन भएका बाढीपहिरो पीडितहरुको पुर्नवासका लागि प्रवासी म्याग्देलीहरुले घर बनाउन सुरु गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ(मोना) को अगुवाईमा बुधवार रघुगंगा गाउँपालिकाको ५ झिँबाट अभियानको सुरुवात गरिएको पुर्नबास अभियानका सदस्य दल शेरबुजाले बताउनुभयो ।

बाढीपहिरोका कारण घर गुमाएका गरिब तथा विपन्न परिवारलाई पुर्नस्थापना गराउने मोनाको उद्देश्य अनुरुप जिल्लाभर ४० वटा घर बनाउन लागिएको उहाँले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहको सिफारिसका आधारमा शौचालय सहितको तिन कोठे घर बनाउन लागिएको अभियानका सदस्य शेरबुजाले बताउनुभयो ।

उहाँका अनुसार बाढिपहिरोका कारण सवैभन्दा धेरै प्रभावित धौलागिरि गाउँपालिकाको ६ मराङको राम्चेमा ६ र अस्करेमा ४ घर निर्माण हुने छन् । यसै गरी वडा नम्बर ७ धारापानीमा ४ वटा घर निर्माण गरिने भएको छ ।

मालिकाको ७ बिममा एकिकृत वस्ती निर्माणका लागि बिम मालिका संघको अन्तर्राष्ट्रय विभागको सक्रियतामा २० लाख रुपैयाँ सहयोग संकलन गरी जग्गा व्यवस्थापन गरिएको अभियानका सदस्य शेरबुजाले बताउनुभयो ।

मालिका गाउँपालिकाले एकिकृत वस्ती सम्म सडक,खानेपानी,विजुली लगायतका पूर्वाधारको विकास गर्ने भएको छ । बिमको एकिकृत वस्तीमा १० वटा नयाँ घर निर्माण गरिने भएको हो ।

यसै गरी मोनाले मंगलामा४,बेनी नगरपालिकामा ४ र अन्नपूर्णमा ४ घर निर्माण गरि पीडितलाई बैशाख भित्र हस्तान्तरण गर्ने योजना रहेको संयोजक शेरबुजाले बताउनुभयो ।