कोरोना संक्रमण भएपछि प्रभु बैंकले निकाल्याे कर्मचारी

विकल्प न्युज/ बेनी

माघ २ गते । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि म्याग्दीमा एक व्यक्तिको जागिर गएको छ ।

पिसिआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका अन्नपूर्ण गाउँपालिका–६, घारका शिव बरुवालको जागिर खोसिएको हो । 

४१ वर्षीय बरुवाल प्रभु बैंकको अन्नपूर्ण शाखा पोखरेबगरमा सुरक्षागार्डका रुपमा काम गर्नुहुन्थ्यो ।

उहाँले त्यस बैंकमा काम गर्न थालेको २० महिना पुगेको थियो भने त्यसैक्रममा गएको पुस पहिलो साता उहाँ कोरोना भाइरस (कोभिड–१९)को संक्रमित बन्नुभयो ।

पुस १ गते पिसिआर परीक्षणका लागि उहाँको स्वाब सङ्कलन गरियो र ५ गते आएको रिपोर्टमा पोजिटिभ आयो । 

सुरक्षागार्ड बरुवालले संक्रमण भएपछि सुरुको १ हप्ताको समयसम्म टाउको दुख्ने, उच्च ज्वरो आउने, खान मन नलाग्ने र स्वाद थाहा नपाउने जस्ता लक्षणहरु देखिएको बताउनुभयो ।

संक्रमण पुष्टि भएर घरमै आइसोलेसन बसेको भए पनि उहाँले टोल, छिमेकबाट राम्रो सहयोग पाउने अपेक्षा त गर्नुभयो, तर अपेक्षा भने उपेक्षामा परिणत भयो ।

टोल, छिमेकमा आफूलाई दुव्र्यवहार भएको उहाँको गुनासो छ । यससँगै कोरोना संक्रमण पुष्टि भएको ५÷६ दिनमै अफिसबाट आफ्नो ठाउँमा अर्को मान्छे राखेको भन्ने जानकारी आएको उहाँले बताउनुभयो । 

बैंकमा सुरक्षागार्डको काम गर्ने क्रममा नै आफूलाई कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ ।

आफू संक्रमित भएर आइसोलेसनमा बसेको समयमा कोभिड अस्पतालका डाक्टर, नर्सहरु आएर हौसला दिएर मनोबल बढाउने काम गरेको अनुभव सुनाउँदै उहाँले अस्पतालबाट शारिरीक व्यायाम, बाफ लिने, योगा गर्ने र घाममा बस्न सिकाएको बताउनुभयो । 

वैदेशिक रोजगारीको सिलसिलामा मेलेसियामा ४ वर्ष बिताएर फर्किनुभएका बरुवालको परिवारमा बाबुआमा, श्रीमतीसहित ३ छोरी र २ छोरा छन् ।

उहाँलाई कम्पनीले मासिक रुपमा सुख्खा १८ हजार रुपैयाँ तलब मात्रै दिएको थियो ।

यता प्रभु बैंक अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले भने एक्सेलेन्ट सेक्युरिटी कम्पनी काठमाडौंले सुरक्षागार्डको नियुक्ति, तलव/ भत्तालगायत सबै व्यवस्था गर्ने भएकाले यस विषयमा बैंकलाई केही पनि जानकारी नहुने बताउनुभयो । 

बरुवाल जस्तै कारोना संक्रमित भएर टोल, छिमेकमा गरेको दुव्र्यवहार घारकै लिला खत्रीले पनि भोग्नुभयो ।

उहाँले समेत कोरोना संक्रमण पुष्टि भएर घरमै बसेको समयमा टोल, छरछिमेकबाट संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेकाको घरमा जान हुन्न, उनीहरुसँग बोल्न हुँदैन भनेर सुनेको दुःखेसो पोख्नुभयो ।

कोरोनामुक्त भएका बरुवाल र खत्रीलाई अन्नपूर्ण गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल उद्घाटनको अवसरमा कोरोनामुक्त भएको प्रमाणपत्रसहित जनप्रतिनिधि, डाक्टर तथा स्थानीयले सम्मान गरेका थिए । प्रताप बानियाँ