ताजा समाचार:
Search

नेकपा (प्रचण्ड नेपाल) पक्षको बेनी नगरपालिकामा अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज\बेनी
पुस २० गते ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड) समूहले म्याग्दीका स्थानीय तहमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई तिव्रता दिएको छ । मंगला, मालिका र धवलागिरि गाउँपलिकामा भेला तथा पशिक्षण सम्पन्न गरेको समुहले सोमबार बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा पशिक्षण सम्पन्न गरेको हो ।

नेकपा बेनी नगरपालिकाका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता भएको भेलालाई सम्वोधन गर्दै जिल्ला अध्यक्ष गोविन्द्र पौडेलले ओलीको असंवैधानिक कदमले देशमा राजनीतिक संकट निम्ताउन खोजेको बताउँदै प्रतिगामी कदमको सशक्त प्रतिरोध गर्न आग्रह गरे ।

म्याग्दी परिर्वतनकारीहरुको पक्ष सधै अग्रपँक्तिमा रहेको उल्लेख गर्दै उनले सत्ताको स्वादमा रमाएकाहरुले मात्र ओलीको असंवैधानिक कदमलाई समर्थन गरेको बताए ।

दुई तिहाइ बहुमतबाट निर्वाचित प्रधानमन्त्रीले संसद भंग गर्नु संविधान विपरित, अलोकतान्त्रीक र निरंकुशता भएको बताउँदै ओलीले जंगबहादुरको अर्को संस्करणको तानाशाह चलाउन खोजेको अध्यक्ष पौडेलले भने।

नेकपा गण्डकी प्रदेश कमिटी सदस्य मुना बानियाँ र जिल्ला कार्यालय सदस्य बालकृष्ण सुवेदीले मुलुकलाई ओलीको कदमले मुलुकलाई पछि धेकेलको कारण मुलुकलाई संकटमा बाहिर ल्याउन संसद पुर्नस्थापनाको मागलाई बुलन्द गर्नुपर्नेमा जोड दिए । जिल्ला सदस्य कृष्णकुमार विश्वकर्माले देशलाई नै पछि धकेल्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कार्यहरुलाई विवेक बन्धक राखेर स्विकार गर्न नहुने बताए ।

पार्टीमा विवाद र बहस हुने स्वभाविक कुराहरुलाई आत्मसाथ नगरिकन प्रतिगमन रुचाउनेहरुको भीड बनाएर पार्टी र देशलाई ओलीले धोका दिएको आरोप लगाए ।

जिल्ला सदस्य ज्योती लामिछानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नगर कमिटी कार्यालय सदस्य ज्ञानेन्द्र सुवेदीले संचालन गरेका थिए ।