गलेश्वर ज्येष्ठ नागरिक आश्रमबाट निकालिएकी बृद्धा न्याय माग्दै सिडिओसंग (भिडियो सहित)

बिकल्प न्यूज बेनी
२० पुस । 

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमबाट एक बृद्धालाई निकालिएको घटना बाहिर आएको छ ।

https://youtu.be/kicra_FBMTU 

लामो समयदेखि आश्रममा बस्दै आउनुभएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ बर्षिया बृद्धा पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो ।

आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको सरणमा पुग्नुभएकी पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई मौखिक गुनासो गर्नुभएको छ ।

आश्रममा आफु बस्दै आएको कोठाबाट आश्रम व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर केसीको निर्देशनमा समितिका केहि व्यक्तिहरुले निकालेको बृद्धाले प्रजिअसमक्ष गुनासो पोख्नुभएको थियो ।

‘‘ म विरामी भएर थलिएको छु, उहाँहरुले आश्रमबाट पटक पटक निक्लीएर जा भनेर दबाब दिनुभयो, म कहाँ जाने, कुनै ठाउँ थिएन, केहि दिन चिनेजानेकाको सरणमा परेँ, अति भएपछि न्याय पाउँछुकी भनेर हजुरसमक्ष आएको हुँ’’–प्रजिअ समक्ष पौडेलले रुँदै भन्नुभयो ।

आफन्त र संरक्षक समेत नभएकी पौडेलले गलेश्वर ज्येष्ठ नागरिक आश्रममा बस्ने र अन्नक्षेत्रमा निशुल्क खाने गर्दै आउनुभएको थियो ।

केहि समयदेखि विरामी भएपछि शरिर काप्ने समस्याले आश्रममै आराम गरेर बस्दै आएपनि त्यहाँ कार्यरत केहि कर्मचारीहरुले अध्यक्षले आश्रममा नराख्न भनेको र निस्कन बारम्बार दबाब दिएपछि आफुलाई आश्रमबाट निकालिएको पौडेलको गुनासो छ ।

बृद्धा पौडेलको गुनासो सुन लगत्तै प्रजिअ अधिकारीले आश्रमका अध्यक्ष केसीलाई फोन सम्पर्क गर्नुभएको थियो ।

सो क्रममा प्रजिअ अधिकारीले अध्यक्ष केसीलाई कुनै पनि बाहनामा बृद्धालाई आश्रमबाट निकाल्ने जस्तो गैरजिम्मेवार काम नगर्न सचेत गराउँदै निस्कासन गरिएकी बृद्धालाई तत्काल उचित बसोबासको प्रवन्ध मिलाउन निर्देशन दिनुभएको थियो ।

प्रजिअ पौडेलले प्रशासनको तर्फबाट जाडोमा ओढ्ने बल्याङ्केट समेत प्रदान गर्नुभएको थियो । गलेश्वरदेखि गुहार खोज्दै बेनी आउनुभएकी पौडेललाई प्रशासनको पहलमा पुनः आश्रममै बसोबासको प्रवन्ध मिलाउने गरि गलेश्वर नै पठाईएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोष मातहतमा २०६७ सालदेखि अनाथ, असहाय, अपांगता, बृद्धबृद्धा, साधुसन्त र एकल महिला, पुरुषलाई गास, बास र कपासको व्यवस्था गर्ने उदेश्यले गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा छ ।